सूचनाको शक्ति - The Power Of Information

        

राजस्व बाँडफाँडमा करिब दोब्बरले घट्यो आम्दानी

घरजग्गाको कारोबारमा कमी भएपछि बाँकेका स्थानीय तहमा गत आर्थिक वर्ष २०७९–०८० मा राजस्व बाँडफाँड शीर्षकमा भूमिसुधार तथा मालपोत कार्यालय बाँकेबाट प्राप्त हुने आम्दानी करिब दोब्बरले घटेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीका अनुसार गत आवमा राजस्व बाँडफाँट शीर्षकमा बाँकेका स्थानीय तहले करिब ४३ करोड रुपैयाँ प्राप्त गरेका छन् । गत आवको साउनदेखि जेठसम्म ३९ करोड ५८ लाख ६२ हजार रुपैयाँ र असारमा करिब तीन करोड बढी रुपियाँ स्थानीय तहलाई पठाइएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा ७६ करोड ५८ लाख रुपैयाँ राजस्व बाँडफाँट शीर्षकमा पठाइएको कार्यालय प्रमुख नेपालीले बताए । कार्यालय प्रमुख नेपालीले भने, ‘आर्थिक मन्दी लगायतका कारण घरजग्गाको कारोबारमा कमी भएपछि मालपोतको समग्र राजस्व सङ्कलनमा कमी भएको छ ।’

गत आवमा विश्वब्यापी आर्थिक मन्दीसँगै निर्वाचन, कित्ताकाट रोकिएको, स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने, बैंकिङ कारोबारमा कडाइका कारण राजस्व सङ्कलनमा कमी आएको छ । राजस्व बाँडफाँट शीर्षकमा स्थानीय तहमा जग्गाको रजिष्ट्रेशनबापत प्राप्त हुने राजस्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहले र ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने व्यवस्था छ ।

बाँकेमा यसरी सबैभन्दा बढी राजस्व प्राप्त गर्नेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका छन् भने कम राजस्व प्राप्त गर्नेमा नरैनापुर, डुडुवा, जानकी र राप्तीसोनारी गाउँपालिका छन् । मालपोत कार्यालयले गत आवमा पुँजीगत लाभकर शीर्षकमा २३ करोड ३२ लाख ८० हजार ९१५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी, आव २०७८–०७९ भन्दा आव २०७९–०८० मा करिब ६ प्रतिशत कम लिखत पास भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १४:२१