सूचनाको शक्ति - The Power Of Information

        

आठ प्रतिशतले बढ्यो आन्तरिक राजस्व

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले अघिल्लो आर्थिक वर्ष २०७८–०७९ भन्दा आर्थिक वर्ष २०७९–०८० मा आठ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख सुदिशकुमार अर्यालका अनुसार आर्थिक वर्ष २०७९–८० मा पाँच अर्ब ९२ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालय प्रमुख अर्यालले भने, ‘विश्वव्यापी आर्थिक मन्दीका कारण विभागबाट प्राप्त लक्ष्य पूरा गर्न नसके पनि गत वर्षभन्दा बढी राजस्व जम्मा गर्न सफल भएका छौं ।’

कार्यालयले लक्ष्यको ७४.३८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागबाट आन्तरिक राजस्व कार्यालयले सात अर्व ९६ करोड १७ लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७८–०७९ मा पाँच अर्व २२ करोड ४६ लाख ६०२ रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा पाँच अर्व ४७ करोड ९७ लाख पाँच हजार गरी लक्ष्यको १०४.८८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

गत आव २०७९–रुपैयाँ ८० मा अन्तःशुल्क शीर्षकमा तीन अर्व ३० करोड र मूल्य अभिकृद्वि कर (भ्याट) बाट एक अर्ब तीन करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

करदाता लक्षित गरी बजार अनुगमनसँगै छुटेकालाई करको दायरामा ल्याउने, बिल काट्न लगाउने, करदाता शिक्षा, करको दायरा विस्तार, कर परीक्षणलगायतका कार्यक्रम गरिँदै आएको कार्यालयले जनाएको छ ।

यस्तै अनुगमन तथा अनुसन्धान, बक्यौता नतिर्नेलाई कानुनी कारवाही पनि गरिँदै आइएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्ज अन्तर्गत करिब सात हजार भ्याटमा दर्ता भएकासहित ७० हजार करदाता छन् ।

सीमित जनशक्ति र स्रोत र साधनबीच बढीभन्दा बढीलाई करको दायरामा ल्याउन अभियान पनि चलाइएको कार्यालय प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १४:१५