सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा प्रभावकारी बन्दै किसानमैत्री कार्यक्रम

बाँकेको राप्तीसोनारी गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन सञ्चालन गरेको किसानमैत्री कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका अन्य पालिकाभन्दा कृषिमा बढी बजेट छुट्याएको राप्तीसोनारीले सञ्चालन गरेको विभिन्न प्रकारका किसानमैत्री कार्यक्रम र योजनाले सयौँ किसान लाभान्वित हुन थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अधिकांश जनता कृषिमा आश्रित रहेकोले पनि पालिकाले कृषि विकासमा विशेष जोड दिएको जनाए । उनका अनुसार राप्तीसोनारीले चालु आर्थिक वर्षका लागि १ करोड ८७ लाख र संघमार्फत् प्राप्त ६५ लाख बजेट कृषिकै लागि छुटुयाएर काम गरिरहेको छ ।

पालिकाका अध्यक्ष पौडेलले गाउँपालिकाले हरेक वर्ष पकेट क्षेत्रलाई निरन्तरता दिने र क्षेत्रफल बढाउँदै लैजाने नीति लिएको बताए । हरेक पकेट क्षेत्रमा २० हेक्टर क्षेत्रफलमा विभिन्न खेती भइरहेको छ । पालिकाका कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाहीले कृषि उत्पादन पकेट क्षेत्रका रूपमा वडा नं.२ मा मकै पकेट क्षेत्र र वडा नं.७ मा नयाँ धानको पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्य अघि बढाइएको बताए ।

प्रमुख शाहीका अनुसार सङ्घीय सरकारको अनुदानमा गाउँपालिकाले ५० प्रतिशत किसानसँगको साझेदारीमा ३६० घरधुरीलाई उन्नत धानको बिउँ समेत वितरण गरिसकेको छ । यसैगरी, वडा नं.८ को सम्शेरगन्जलाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरिएको छ यहाँ एकै स्थानमा ठुलो क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।

सम्शेरगन्जमा गाउँपालिकाले ३५ हेक्टर क्षेत्रफलमा तरकारीको ब्लक कार्यक्रम सञ्चालन गरेको छ । सोही प्रकारले बसन्ते मकै उत्पादन कार्यक्रम भनेर वडा नं.२ मा ३५ हेक्टर क्षेत्रफलमै किसानहरूले मिलेर मकैको खेती गरेका छन् । बसन्ते मकै उत्पादन कार्यक्रमका लागि पालिकाले १५ लाख बजेट मकै र लगाउँदा आवश्यक पर्ने कृषि औजार, मल, बिउँ इत्यादिका लागी छुट्याइदिएको छ ।

त्यस्तै, वडा नं.६ मा च्याउ पकेट कार्यक्रम गाउँपालिकाको कृषि शाखाले सञ्चालन गरिरहेको छ । किसानसँगको साझेदारीमा १२ कठ्ठा क्षेत्रफलका हिसाबले ५ हजार च्याउका डल्लाका दरले ६ स्थानमा ३० हजार डल्ला च्याउ उत्पादनमा लगाएको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार तरकारी कार्यक्रमले करिब तीन हजार ५०० किसानलाई समेटेको पालिकाले जनाएको छ । सोही प्रकारले फलफूल खेतीका लागि १० लाख बजेट रहेकोमा ३०० जना किसानलाई उक्त सेवा प्रदान गर्न सकिने शाखाले जनाएको छ ।

सिक्टा सिँचाइले आयोजनाको पानी वडा नं.३ र ४ का क्षेत्रहरूबाहेक अन्य वडाका क्षेत्रहरूमा पुग्न नसकिरहेको अवस्था छ । अधिकांश किसानले भूमिगत सिँचाइको प्रयोग गरी आफ्नो खेती गरिरहेका छन् । गाउँपालिकाका अध्यक्ष पौडेलका अनुसार विभिन्न किसानमैत्री कार्यक्रम र योजना सञ्चालन गरेपछि किसानहरू व्यावसायिक हुँदै गइरहेका छन् । उनीहरूले उत्पादन गरेका तरकारीहरू नजिकको बजारसम्म बिक्री गर्न आफै जाने गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १४:११