सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरी कार्यालय बाँकेले २ करोड बढि राजस्व संकलन

 जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले राजस्व भन्दा पनि जनचेतनाका कामहरुलाई संगसंगै अगाडी बढाईरहेको समेत उनले जानकारी दिए । पहिले पहिलेको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देख्न पाएका छौ ।

पहिले पहिले नेपालगञ्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो । सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ । तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको छ ।

बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुशन्धान गर्न सरोकारवाला लाई बाँके जिल्ला ट्राफिककार्यलय प्रमुख सुनारले आग्रह गरे ।

उनले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने नागरिक स्वयम् आफै सचेत र अनुशासित रहे ८०% दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताए ।

गत आर्थिक बर्षमा मात्र कार्यालयबाट सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरी करिब चौतिस हजार बढि सवारी चालक, यात्रु र विद्यार्थीहरुलाई सचेतीकरण गर्ने काम पनि गरेको सुनारले जानकारी दिए ।

आर्थिक बर्ष २०७९/८० को मसान्तसम्ममा बाँकेमा एक सय २४ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ भने एक सय २९ जना घाईते भएका थिए । जसमा सडक चौपाए १०को मृत्यु भएको थियो भने २ वटा घाइते भएका थिए ।

बाँके जिल्ला भारतीय सिमा संग जोडिएको बजार भएको हुदा पनि भारतीय सवारी साधनहरुको लापरबाहीका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

बाँकेमा ट्राफिक प्रहरीको अभाव र सवारी चालकहरुको लापरबाही, मदिरा र लागुपदार्थ सेवन गरी सवारी चलाउने भएका कारण पनि सडक दुर्घटना बढ्दै गएको तथ्यांकले देखाउँछ ।

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले मापसे र लागु पदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई नियन्त्रण गर्नका लागि बिभिन्न अभियानहरु संचालन गर्दै आएको भएता पनि त्यती प्रभाबकारी भएको पाईदैन ।

यस्तै बाँकेमा गत आर्थिक बर्षमा मापसेका दुईहजार आठ सय ५५ वटा सवारी साधनहरु लाई कारबाहीबाट २८ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

प्रमुख सुनारले बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन सञ्चालन र सडक निर्माणमा बृहतम अध्ययन अनुसन्धान गर्न सरोकारवालालाई आग्रह गरे ।

बाँके ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नं १२ को चप्परगौडीदेखि राप्ती सोनारीको ढकेरी हुदै शमशेरगञ्जसम्मको सडकखण्डलाई बढी दुर्घटना हुने सडक खण्डको रुपमा पहिचान समेत गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:३६