सूचनाको शक्ति - The Power Of Information

        

महिलामा पनि बढ्दैछ हृदयघातको खतरा

लामो समयदेखि प्रायः पुरुषलाई दुःख दिँदै आएको हृदयघात अब महिलाहरुमा पनि अधिक देखिन थालेको छ । युरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी)को वैज्ञानिक सम्मेलन हार्ट फेलियर–२०२३ मा प्रस्तुत एक अध्ययनका अनुसार पुरुषको तुलनामा महिलामा हृदयघातपछि मृत्युको सम्भावना दुई गुणा हुन्छ । पुरुषजस्तै सयममै उपचार प्राप्त गरे पनि महिलाहरुमा सो समस्या बढ्दो रहेको पाइएको छ ।

भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका कार्डियोलोजी र कार्डियो थोरासिक सर्जरीका वरिष्ठ सल्लाहकार डा.वरुण बंसल भन्छन्, ‘मान्छेले के सोच्छन् भने हृदय रोगले मुख्य रूपले पुरुषहरुलाई मात्रै प्रभावित गर्छ । तर, हृदय रोग विश्वभरि नै पुरुष र महिला दुवैको मृत्युको प्रमुख कारण रहेको छ ।’ यद्यपि, हृदय रोगको लक्षण लिंगको आधारमा भिन्न पनि हुनसक्छ जसले गर्दा रोगको पहिचान, निदान र उपचारमा अन्तर हुनसक्छ ।

देखिन सक्छ यी लक्षण

अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरुलाई प्रायः हृदयघातको विभिन्न लक्षणहरु देखापर्छ । पुरुषहरुमा छाती दुख्नु, छटपटी हुनु र महिलाहरुमा भने असामान्य लक्षण तथा विभिन्न चेतावनी संकेतहरुको अनुभव हुन सक्छ । स्वास लिनमा समस्या, थकान, वान्ता, पिठ्युँ दुख्नु र रिगंटा लाग्ने लक्षणहरु देखिन सक्छ । यी लक्षणहरु सधैं हृदय रोगसँग मात्रै जोडिएको हुँदैन ।

त्यसैले महिलाहरु उपचार गर्न वा चिकित्सकको सल्लाह लिनमा ढिलाइ गर्छन् जसले गर्दा रोग खतरनाक स्तरसम्म पुग्छ । अमेरिकन हार्ट एसोसिएशनको जर्नलमा प्रकाशित एक अर्को अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरुलाई प्रथम हृदयघातपछि पाँच वर्षभित्र हर्ट फेल तथा मृत्युको जोखिम २० प्रतिशत बढ्छ । यसबाहेक हृदयघात पुरुषको तुलनामा महिलाहरुको उमेर अधिक हुने र उनीहरुको मेडिकल हिस्ट्री जटिल हुने सम्भावना अधिक हुने अध्ययनमा उल्लेख छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार महिलाहरुमा प्रायः मेनोपेज (महिनावारी बन्द)पछि हृदय रोग विकसित हुने सम्भावना हुन्छ, जब एस्ट्रोजनको सुरक्षात्मक प्रभाव कम हुन जान्छ । हृदय प्रणालीमाथि एस्टोजनको लाभकारी प्रभाव हुन्छ, जसमा स्वस्थ रक्तवाहिका कार्यलाई बढाउने र सुन्निने समस्यालाई कम गर्छ । चिकित्सकहरुले मेनोपजपछि महिलाहरुलाई आफ्नो शरीरमा परिवर्तन र हृदय सम्बन्धी जोखिममा वृद्धि भएको अनुभव हुन सक्छ ।

पहिलेको तुलनामा उक्त रोगमा विभिन्न कारणहरु देखिएको छ, जसमा पलिसिस्टिक ओवरी सिन्ड्रोम (पीसीओएस), गर्भावस्थासँग सम्बन्धित जटिलताहरु जस्तै गेस्टेशनल डायबिटीज र प्रीक्लेम्पसिया, सबक्लिनिकल डिप्रेशन, काम र घरेलु जिम्मेवारीहरुको अतिरिक्त तनाव सामेल रहेको छ । चिकित्सकहरुले यसको समाधानका लागि जागरुकता बढाउनु आवश्यक रहेको बताएका छन् । चाँडै रोग पत्ता लगाउने कुरालाई ध्यान दिनु र रोकथामको लागि बनाइएको रणनीतिलाई लागू गर्नु आवश्यक रहेको बताएका छन् ।

स्रोत : सहारा समय
प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०६:३१