करिब दुई दशकअघिसम्म धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा ५० भन्दा बढि परिवारको बसोबास थियो । त्यहाँ क्षेत्री, ब्राह्मण, लिम्बू, तामाङ लगायतका जातजातिको बसोबास रहेको थियो । अहिले बसाइँसराइले ५० परिवार घटेर २८ मा सीमित भएका छन् ।
अझ रोचक कुरो त बसाइँ सरेर जाने सबै क्षेत्री र ब्राह्मण जाति छन् । अहिले यहाँ ब्राह्मण र क्षेत्रीको बसोबास नै छैन । स्थानीय दीर्घबहादुर तामाङ सुरुसुरुमा आफूले थाहा पाउँदासम्म मिश्रित बसोबास रहे पनि अहिले लिम्बू र तामाङ मात्र रहेको बताउँछन् । उनले भने, ‘पहिले त सबै खाने मानिसको बसोबास थियो पछि अलिअलि गर्दै ब्राह्मण र क्षेत्री हिँड्न सुरु गरेपछि हामी मात्रै रह्यौँ ।’
बसाइँ सर्न मन त लाग्छ, तर जन्मगाउँ सम्झँदा जति समस्या भए पनि कतै जान मन लाग्दैन, तामाङ थप्छन् । चौबिसे गाउँपालिककै वडा नं.४, बाजथलामा पनि केही वर्षअघिसम्म करिब ३० परिवारको बसोबास रहेको थियो । यहाँ ब्राह्मण र तामाङ जातिका मानिसको आधाआधा जस्तो बसोबास थियो । अहिले तामाङ जातिका मानिस त्यहीँ बसोबास गरिरहेका छन्, तर ब्राह्मणका दुई परिवारबाहेक सबै बसाइँ सरेर हिँडिसकेका छन् ।
पहिले मिश्रित बसोबास भएपछि अहिले अरू जाति बसाइँ सरेर गइरहेको स्थानीय कृष्णबहादुर तामाङ बताउँछन् । सोही वडाको पौवामा अहिले केही घर याक्खाको मात्र बसोबास छ । यहाँ पनि पहिले मिश्रित बसोबास थियो । स्थानीय कौशिला देवानले भनिन्, ‘छिमेकी सबै बसाइँ सरेर गइसकेका छन् । छिमेकी गएको देख्दा जाउँजाउँ लाग्छ, तर गाउँ सम्झँदा कतै जान मन लाग्दैन ।’ यी स्थानबाहेक अन्य बसाइँसराइको अवस्था उस्तै छ ।
जिल्लाबाट बसाइँ सर्ने अधिकांश ब्राह्मण जातका मानिस रहेका छन् । त्यसपछि क्षेत्री, नेवार, याक्खा र राई जातिका रहेका छन् । नयाँ बसाइँसराइ गर्नेमा तामाङ, आठपहरिया, लिम्बू र मगर जाति रहेका छन् । २०६८ सालको जनगणना अनुसार धनकुटाको जनसङ्ख्या एक लाख ६३ हजार ४१२ रहेको छ । तर २०७८ सालमा आइपुग्दा जिल्लाको जनसङ्ख्या १२ हजार ८१३ ले घटेर एक लाख ५० हजार ५९९ भएको छ ।
धनकुटामा २०६८ सालमा आठ हजार ८४८ रहेको ब्राह्मण जातिको जनसङ्ख्या अहिले दुई हजार ६९२ घटेर छ हजार १५६ मा झरेको छ । यो अघिल्लोको तुलनामा करिब ३०.४२ प्रतिशतले घटेको हो । त्यस्तै ३३ हजार २५३ रहेको क्षेत्रीको जनसङ्ख्या रहेका २०७८ सालमा ९.७४ प्रतिशतले घटेर ३० हजार ११ मा झरेको छ । ३२ हजार ११९ राईको जनसङ्ख्या ७.६१ प्रतिशतले घटेर अहिले २९ हजार ६७४ पुगेको छ ।
नेवार जातिको जनसङ्ख्या अघिल्लोभन्दा ११.६३, याक्खाको १२.५७ प्रतिशतले घटेको छ । सबैभन्दा कम घट्नेमा तामाङ ५.९३, लिम्बू २.११, र मगर १.९३ प्रतिशत छ । २०७८ सालको जनगणना अनुसार जिल्लामा नेवार जातिको जनसङ्ख्या छ हजार ७४५, याक्खा जातिको चार हजार ३४४, तामाङ नौ हजार ८८६, लिम्बू २० हजार ८५५, आठपहरिया पाँच हजार ३६५ र मगर १५ हजार ५८० रहेको जिल्ला तथ्याङ्क कार्यालय धनकुटाको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क कार्यालय धनकुटाका सूचना अधिकारी युवराज महत २०६८ सालको भन्दा २०७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेकाले बसाइँसराइकै कारण जनसङ्ख्या घटेको हुनसक्ने बताउँछन् । २०६८ सालमा जनगणना हुँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १४ हजार ४१५ रहेको थियो । २०७८ सालमा त्यो सङ्ख्या घटेर नौ हजार ५४२ भएको छ । महत भन्छन्, ‘यो जन्म मृत्यु र वैदेशिक रोजगारीमा जानेको अनुपात हेर्दा जनसङ्ख्या बढ्नुपर्ने हो तर घट्दो दरमा छ यो बसाइँसराइकै कारणले हो ।’
ब्राह्मण, क्षेत्री जाति बढी घुमन्ते भएकाले बसाइँसराइ बढी गर्ने गरेको धनकुटा कुरुलेका गोपीकृष्ण भण्डारी बताउँछन् । भण्डारी भन्छन्, ‘हजुरबुवा पुस्ता कहाँबाट आएर यहाँ बस्नुभयो । हामीसम्म जसोतसो बस्यौँ, धेरै त हाम्रै पुस्ता यहाँबाट पनि हिँडिसके । हाम्रो छोरा नाति पुस्ता पुग्दा यहाँबाट सबै कहाँ पुगिसक्छन् ।’ त्यसो त ब्राह्मण र क्षेत्री अन्य जातिको तुलतामा बढी बसाई सर्ने सामान्य रहेको धनकुटा बहुमुखी क्याम्पसका ग्रामीण विकास विषयका उपप्राध्यापक दिनेश अधिकारी बताउँछन् ।
विभिन्न अवसरको सम्भावनाले ब्राह्मण र क्षेत्री बसाइँ सर्ने तर जनजाति र दलित समुदायलाई यी तत्वले खासै प्रभाव नपार्ने उनको बुझाइ छ । दलित समुदाय आर्थिक समस्याका कारण बसाइँ नसर्ने र जनजाति प्रकृतिको सामिप्यमा बस्ने, प्रकृति पूजक, भूगोलसँगको सम्बन्धका कारण कम बसाइँ सर्ने गरेको बताउँछन् । त्यस्तै भूगोल छाड्दा संस्कृति गुमाइन्छ भन्ने मान्यता रहेकाले उनीहरू कम बसाइँ सर्ने उनको भनाइ छ ।
सत्यपाटी संवाददाता । धनकुटा