सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ महामन्त्री थापाले प्रस्ताव गरेको वार्षिक क्यालेन्डर

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पार्टीको एक वर्षको क्यालेन्डर पेस गरेका छन् ।

मंगलबारदेखि बसेको बैठकमा महामन्त्री थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

‘हरेक महिना एक विशेष उद्देश्यसहितको कार्यक्रमहरू तोकिएका छन् । त्यस्ता कार्यक्रम विभिन्न समयसन्दर्भ मिलाएर गर्ने गरी तिथिमिति तोकिएको छ,’ महामन्त्री थापाले भने, ‘हामीले यो क्यालेन्डर पास गरेर लागू गरेपछि पार्टीका साथीहरुले वर्षमा एक महिनामात्रै छुट्टी पाउनुहुन्छ । नभए बाँकी दिनमा कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न भएको हुनुपर्नेछ ।’

महामन्त्री थापाले माघमा टोल टोलमा कांग्रेस अभियानअन्तर्गत पार्टीको कुनै पनि पदमा बहाल रहेको प्रत्येक व्यक्ति आफू क्रियाशील रहेको वडामा पुगेर कुनै न कुनै सामाजिक कार्यक्रममा अनिवार्य सरिक हुनुपर्ने प्रस्ताव गरेका छन् ।

‘यो कार्यक्रम एकै दिन ६ हजार ७४३ वटै वडामा हुन्छ । यसमा पार्टीको सभापतिज्यूले पनि आफ्नो वडामा पुगेर कुनै न कुनै सामाजिक कार्यमा सहभागी भएको हुनुपर्छ । हामीहरू सबै जना आफ्नो वडामा पुग्नेछौं।’

महामन्त्री थापाले साउनमा हरियाली महिनाको रुपमा वातावरण विशेष कार्यक्रमहरु रुख रोप्ने, युवा र भ्रातृ संस्थाहरुसँग बैठक गर्ने लगायत कार्यक्रम गर्न प्रस्ताव गरेका छन् ।

त्यस्तै, भदौलाई साहित्यिक महिनाका रुपमा साहित्य विशेष सांगठनिक अभियान सञ्चालन गर्ने र त्यसक्रममा दिवानसिंह राई स्मृति दिवसमा विचार गोष्ठीदेखि मधेशका सबै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम सञ्चालनको प्रस्ताव गरेका छन् ।

असोजलाई उत्सवको महिनाका रुपमा उत्सवमय बनाउने, कात्तिकलाई संवादको महिनाको रुपमा पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने कन्क्लेभ गर्ने महामन्त्री थापाको प्रस्ताव छ ।

मंसिरमा महिला हिंसाविरुद्ध एक महिने मंगलादेवी अभियान सञ्चालन गर्ने, भूसंरक्षण, पहिचान र विविधताका विषयमा कार्यक्रमहरू गर्ने, किसान सप्ताह मनाउने प्रस्ताव छ ।

त्यस्तै, पुसमा एकता मेलमिलाप विशेष कार्यक्रमहरू गर्ने, माघमा सम्मान विशेषसहित सप्ताह मनाउने, फागुनमा खेलकुद सप्ताह र सत्याग्रह विशेष कृष्णप्रसाद भट्टराई स्मृति अभियान, चैतमा गिरिजाप्रसाद कोइराला स्मृति शान्ति पदयात्रा र डिबी परियार स्मृति राष्ट्रिय कला सम्मेलन गर्ने प्रस्ताव छ ।

वैशाखमा संकल्पको महिनाको रुपमा लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १० मा समता दिवस मनाउने कार्यतालिका छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १७:४०