तिम्रो यादको गिरफ्तारबाट उम्कन कहाँ सजिलो छ र पिय्र, मेरो दुनियाँको मै राजा, तर राज चाहिँ तिम्रो किन ?
छोरी जन्मिएसँगै ठुला–ठुला सपनाको बिज रोपिन्छ, तिमीलाई लिन राजकुमार आउँछ, केही दुःख गर्नुपर्दैन, सबै उसैले पुर्याइदिन्छ, तिमी तिम्रो घरमा राज गरेर बस्नेछौ, यही संसारमा म पनि हुर्किदै गए । बाल्यकाल रमाइलैसँग बित्यो, न कुनै दुख न कुनै अभाव महसुस हुन्थ्यो, सुखै सुखमा बित्यो मेरो बाल्यकाल । छोरी हुँ बिवाहको प्रस्ताव मेरो लागि स्वाभाविकै हो । तर, त्यो व्यक्ति बुबाले भनेजस्तो राजकुमार देखिँदैनथ्यो ।
ठूली भइसकेको थिए, मनलाई समाल्दै भने मनको राजा भए भैहाल्यो नि ! म चाहिँ कत्तिको रुपकी रानी छु र ! बिवाहको कुरा भएपछि हाम्रो चार पटक भेटघाट पनि भयो । उसले गुन्गुनाउने गीत, ‘किन मनको चाहनामा आइदिन्छौं…’ यति मात्र थियो । पछि मैले पनि हिम्मत गरि भनिदिए ‘माया पिरतिले…।’ आजकालका प्रेमीहरुको बारेमा साथीहरुले कुरा गर्थे, ‘आजकालका प्रेमीहरुमा छुनै हतार हुन्छ…, एकैछिन नभेटे रुनै हतार हुन्छ…, अनि भेटेपछि एक अर्काको हुनै हतार हुन्छ…।’
यो सुनेर म खै किन केटाहरुबाट टाढा हुन्थे र केटा साथी पनि थिएनन् । तर उ चाहिँ फरक थियो, त्यसैले मन पर्न थाल्यो । म मेरो काममा मस्त थिए र उ पनि आफ्नो कामा व्यस्त थियो । हाम्रो कुरामा भविष्यलाई सुन्दर बनाउने, रमाउने, एक अर्कालाई सहयोग गर्दथ्यौं । यस्तो लाग्थो, उसले मेरो समस्यालाई आफ्नो ठानेर मभन्दा अघि समाधान गर्छ । त्यसैले होला उ प्रति अथाहा प्रेम छ मलाई । हतार हामीलाई थिएन, घर परिवारलाई भयो र हाम्रो बिवाह भयो ।
बिवाहपश्चात पनि हाम्रो सम्वन्ध राम्रैसँग चलेको थियो, एकअर्का प्रति माया, सम्मान थियो । कामको क्रममा घर बाहिर बस्नुपर्ने मेरो र उसको बाध्यता । घरकाले उनको निर्णयलाई प्रश्न नगरेर स्वीकार दिन्थे, मेरो निर्णयबाट भने टाढिदिन्थे । मेरो भविष्यको चिन्ता कसैलाई थिएन । मैले मेरो माइतीलाई पनि भने, कहिँकतै सुनुवाई भएन । मैले थाहा पाए, मेरो जिन्दगीको निर्णय लिने व्यक्ति अरु पो रहेछन् । बिवाहपूर्व मलाई जन्म दिने मेरा आमा बुबा र बिवाहपछि मेरो श्रीमान् र सासुससुरा ।
पुनः मैले हिम्मत गरेर मेरो भविष्यलाई छलफलमा राखे, उत्तर मेरो सोचाइभन्दा माथि थियो, ‘छोराले कमाए पुग्छ, हामीलाइ कसले पकाएर खान देला ? घर गृहस्थी समाल्नु पनि त पर्छ ? इस्टमित्रले के भन्छन् ? घरकी बुहारीको पैसाले खाएका छन् नानाथरि…।’ यति सुनेपछि केहिदिन म बोलिन । उनी कामको सिलसिलामा अर्कै ठाउँमा गए । मेरो भविष्य अन्धकारमा भयो र भाग्य सम्झेर भुल्ने कोशिस गरे । मभन्दा पनि निकै गरिब रहेछ मेरो भाग्य, मसँग रहेको मेरो क्षमता त्यो पनि एकाएक खोसियो ।
मलाई भविष्यको किन होला यतिधेरै चिन्ता ? पाल्छु भनेकै छन्, तर पनि मन पोलिरहने, उमेर बढ्दैछ अनि यताउति हेर्दा हाम्रो खुशी घट्दै पो गइरहेको छ । पहिले कमाउने हामी दुई थियौं अहिले एक जना मात्रै । सबै कुराको अभाव हुनु स्वाभाविक थियो । जब अभाव ढोकाबाट भित्र छिर्छ, अनि खुशीहरु बिस्तारै झ्यालबाट आत्महत्या गर्न सुरु गर्दारहेछन् । जसको फलस्वरुप झैंभगडा, कलह, रिस, एकअर्का प्रति आलोचना, प्रश्न, शंका आदि नकारात्मक कुराहरुले डेरा जमाउँदा रहेछन् । त्यतिबेला मलाई महसुस भयो, तिमी र तिम्रो विश्वास त्यहि छेपारो जस्तो रहेछ, आफ्नो अनुकुलतामा रङ्ग परिवर्तन गर्ने ।
सबैथोक आमाबुबा हुन् भन्ने मान्छे तिमी हौं, तिनै आमाबुबाको स्याहारसुसारका लागि मलाई मेरो पेसाबाट बिमुख बनाइयो, तर अहिले तिनै आमाबुबाको अवस्था कस्तो छ, उनीहरुको औषधी उहिले सकिसकेको थियो, यो पनि भुलेउ है । म कमाउँथे घर खर्च मैले चलाउँथे, आमाबुबाको औषधी उपचार मैले गर्थे, तर फरक, मैले कमाएको पैसा तिम्रो हातमा राखिदिन्थे, तिमीले आफूले कमाएको भन्दै आफ्नी आमाको हातमा राख्थ्यौं, अनि सबै खुसी हुन्थे । अब तिम्रो आमाको गुनासो एउटै छ, छोरोले कमाएको पैसा मलाई दिन्छ रे, तर उहाँहरुलाई के थाहा उहाँको छोराको कमाईले उसैलाई पुगिरहेको छैन ?
अहिले मेरो अवस्था फेरिएको छ, मसँग भएका सबै गहना बेचेर घरखर्च टार्दैछु, किनकी तिमी घर आउन छाडिसकेउ, घरखर्च दिने त कता हो कता । मैले सकेसम्म कोशिस गरिरहेकै छु, किनकी तिम्रो आमाबुबाले तिमीलाई सारै माया र विश्वास गर्नुभएको छ, तर यो विश्वासलाई तिमीले निरन्तरता दिन सकेनौं । यो विश्वासलाई तिमीले कायम राख्न सकेनौं । अहिले तिमीले मेरो मन यतिसम्म दुखाइसकेका छौं, मलाई तिमीभन्दा टाढा एक्लै बस्न मन लाग्छ, एकान्तमा बस्न मन लाग्छ, कहिलेकाहिँ भौतिक शरीरलाई यत्तिकैमा बिसाइदिउँ जस्तो लाग्छ ।
मन दुखाउनेलाई के थाहा मन दुखेको पीडा ? जब मन बेस्सरी दुख्छ, अनि भकानिन्छ, विष्फोट हुन्छ, मन भारी हुँदै शब्द हराउँछन्, आँखाबाट आँसुका भेलहरु बग्न थाल्दछन् । तिम्रो कारण अहिले मेरो अवस्था यस्तै भइरहेको छ । घरको बुहारी हसिली हुनुपर्छ, जस्तोसुकै पीडा भए पनि मुस्कुराइ रहनुपर्छ, मेरो मलिन अनुहारले अलिछिन निम्त्यायो रे ! मेरो मनमा कति पीडा छ त्यो कसैले बुझ्ने कोसिस गरेनन्, सबैलाई आ–आफ्नै चिन्ता छ, तर मैले सधैं अरुकै चिन्तामा पिरोलिनुपर्ने ? हाम्रो संसार रंगिन बनाउँछु भनेर चालेका कदमहरु एकाएक रोकिएर असफल हुँदाको पीडा मबाहेक अरु कसैले बुझ्न सक्दैन । एक्लै बसेर रुन्छु, टोलाउँछु, तर आफ्नो मनको पीडा कसलाई सुनाउँ ?
सुन्ने मान्छे तिमी थियौं, तिमी नै साथमा छैनौं । रंग फिक्का होस्, तर नबदिलोस्, यो तिम्रै शब्द हो । तर यहि शब्द यतिछिट्टै बदिलिन्छ भन्ने मैले कल्पना पनि गरेको थिइन । तिम्रो शब्द आखिर शब्दमै सिमित भयो । साँझ घर पुगेर विहान फिर्ता हुनेलाई घरभित्रको समस्या के थाहा ? घरको समस्या नबुझ्नेलाई मेरो मनमा उम्लिएका पीडाका बाछिटाहरु महसुस हुने कुरै भएन, अझ भन्छौ मुस्कुराउनु स्वास्थ्यको लागि फाइदा हुन्छ रे । अनि म मेरो पीडालाई मुस्कानभित्र लुकाइ दिन्छु, अरुलाइ के थाहा अनुहारमा मुस्कान हुँदैमा मन खुसी हुन्छ भनेर । तिम्रो र मेरो मायाको एउटा डायरी बनाउँछु भनेर सोचे, देख्नेलाई कति धेरै माया, तर त्यो डायरी खोलेर लेख्छुभन्दा कहिले पाना सकिन्छ त कहिले मसी, अनि मेरा शब्दहरु अनयासै रोकिन्छन् । अचम्म लाग्छ अनि मन भकानिन्छ…।
कहाँबाट सुरु गरुँ, के लेखुँ भनेर, देख्नेलाई आहा कति धेरै माया, कति चोखो माया, कति राम्रो संसार । तर यथार्थमा त्यो मायाको डायरीभित्र न पाना छ, न लेख्नलाई मसी नै छ । त्यो डायरीको बाहिरको कभर असाध्यै राम्रो छ, डायरीभित्र पुरै खाली र खोक्रो छ । मसँग रिसाएको भए पो फकाउन सक्छु, बोलाउन सक्छु । तिमी मसँग अघाइसकेका छौं, त्यसैले न फकाउन सकिन्छ न बोलाउन सक्छु । तिमी र तिम्रो लागि सबै त्यागेको थिए नि, जन्मिएको घर, आमाबुबा, मेरो भविष्य । यतिसम्म कि मैले कति पढेको छु सबै भुलिसकेको छु, अब त्यो पढाइ कहाँ प्रयोगमा आउला र खै ? सुन्दा पनि अजिव लाग्छ, कति मोज छ रे मेरो जिन्दगी ! त्यो भन्नेलाई के थाहा कति बोज भएको छ मेरो जिन्दगी, मैले मेरो मनभित्र पीडा लुकाएको छु, मुहारमा त देखावटी मुस्कान मात्र बाँकी छ ।
थाहा छ, दुख सबैलाई छ । बस कथामा निर्भर गर्छ, व्यथाहरु कति गहिरा छन् भनेर । कलहको आवाज मसम्म हुँदा गोप्य थियो, तर अब बच्चासम्म पुग्न थाल्यो, जो स्वीकार्य छैन । मलाई मार्न हतियार काफी थियो, तर तिमीले प्रयोग गरेका ती तुच्छ बचनले मन बिछिप्त बनेर तिमीप्रतिको माया र विश्वास सबै मरिदियो । अब धेरै भैसक्यो, इज्जत, मान, प्रतिष्ठा जोगाउने मेरो मात्र जिम्मेवारी होइन, अब मलाई मेरो बच्चाको लागि बाँच्नु छ । साहसको एक कदम अगाडी बढाउँदै म र मेरो बच्चाको भविष्य उज्वल बनाउनु छ । तिम्रो र मेरो भेट, भेटपश्चात एउटा कथा बन्यो । एउटा कथा तिम्रो, एउटा कथा मेरो र एउटा कथा हाम्रो भयो । तिम्रो कथा र तिम्रो व्यथा संसारले सुन्यो र साथ पनि दियो ।
एउटा कथा मेरो जो मौन छ । सबै महसुस गर्दागर्दै पनि बद्नामको डरले आवाजबिहिन छ, मेरो नामसँग तिम्रो नाम पनि त जोडिएको छ ? म बद्नाम हुँदा तिम्रो पनि बद्नाम हुन्छ भनि डराए र मेरो कथा बद्नामको डरमा हरायो र अर्को कथा हामी दुईको पनि त छ, जो कसैलाई चासो भएन । त्यहि कथाले हाम्रो संसार टुट्न दिदैन्थ्यो होला ? हाम्रो सम्बन्ध टिकाउन मैले मेरो तर्फबाट धैरै कोसिस गरे । हाम्रो सम्बन्ध जोगाउन सक्दो प्रयास गरे । तर म कहिल्यै सफल हुन सकिन । केही कुरा टिकाउन छ भने जतन गर्न सिक्नुपर्छ चाहे त्यो मान होस्, सम्मान होस्, सामान होस् या सम्बन्ध । कति बेला त लाग्छ हाम्रो सम्बन्धमा म मात्र थिए जस्तो । एक्लै रोएको, एक्लै बसेको, एक्लै गुन्गुनाएको । भात पकाएर बाहिरको काम सकेर खाना खाँदा कहिले भात मात्र त कहिले तरकारी मात्र, आफैले राम्रोसँग खान पाए बच्चा पनि अघाउँदो हो ।
आमाले भरपुर खाना नपाउँदा बच्चाको पनि त पेट भरिदैनथ्यो । बच्चाको त्यो भोको रोदन असह्य हुन्थ्यो । हाम्रो कारणले टोलाउनसुरु गरिसकेको थियो । छोरीबुहारी भएर होला सबै सहेको, तर आमाको मन कहाँ मान्छ र ? त्यसैले तिमीबाट अलग हुने निर्णय गरे । कहाँ सजिलो थियो यो मेरो मनलाई पत्थर बनाउन ? तर तिम्रो आनीबानी, व्यवहार र हर्कतले मलाई बाध्य बनायो । पहिले यहि चरित्र सबैलाई मन पर्ने, तर तिमीलाई छाड्ने निर्णय लिँदै गर्दा म चरित्रहिन भए कठै मेरो समाज ! सबै तिम्रो पक्षमै उभिए, मेरो पक्षमा कोही थिएनन्, थियो त मात्र मेरो अवोध बच्चा । जब परिस्थित बुझ्दै जादा चौतर्फी बद्नाम हाम्रो थियो । त्यहि सोचेर मैले आफ्नो कदमलाई अघि बढाए । किनकी तिमीले विश्वासले जितेका थियौं, त्यहि विश्वासले नजिकिएको मान्छे तिमी, जिन्दगीभर नबोली बस्न सक्छु, तर तिम्रो नाम बद्नाम हुन दिँदैन । सबै थोक तिम्रो थियो, मात्रै एक चिज हाम्रो थियो, जो मैले मसँग ल्याए त्यो हाम्रो अवोध बच्चा ।
कहाँ बिर्सन सकेको छु र त्यो क्षण एक हातले आँसु त अर्को हातले बच्चा बोकेर हिँडेको, मेरो दोपट्टा भुइँमा लत्रेको र म भक्कानिएर रुदै घर छाडेको । कसैले पनि कहाँ जाँदैछस्, किन जाँदैछस् भन्ने प्रश्न गरेनन् र रोक्ने त कोही थिएनन् । मेरो भाग्यमा यहि रैछ मैले स्वीकारे र अघि बढे । मैले देखेको छु, धेरैजसो सम्बन्ध नराम्रो र बिकराल तरिकाले टुटेको । तर म मेरो सम्बन्धको टुटाइको आवाज मेरो बच्चाको कानसम्म नपुगोस्, दुनियाँको लागि गफको पात्रो नबनोस्, त्यसैले खुशीको अन्त्यमै टुङ्गियो हाम्रो कथा । अहिले म राम्रो पदमा बसेर काम गर्दैछु । म र मेरो बच्चा रमाएका छौं । हाम्रो रमाइलो संसार छ, जहाँ खुसीले बास गरेको छ, बच्चाको सुन्दर भविष्य छ । जब नाम र पद अलि ठुलो भयो भने अरुले किन भन्ने प्रश्न उठाउन सक्दा रहेनछन्, अहिले थाहा हुँदैछ । तीन बर्ष मेरो घरले मलाई पालेको थियो, त्यसैले समय समयमा मायास्वरुप पैसा पठाइदिन्छु, उनीहरु पनि खुसी छन् । तर मलाई त्यो बिगतमा फेरि फकिएर जाने हिम्मत छैन ।
अहिले म, साँच्चै म बनेको छु, पढाईलाई अगाडी बढाएको छु, समय निकालेर मेकअप पनि गर्छु किनकी मेरो मलिन अनुहार दुनियाँले नदेखोस् भनेर । मैले मलाई माया गर्न सिकेको छु, यसैले मलाई डिप्रेसनबाट बाहिर निकाल्न मद्दत गरेको छ । मैले मेरो डिप्रेसनलाई जित्नु नै ठुलो जित हो । अहिले मैले दुनियाँलाई म सहि छु भनेर स्पष्टिकरण दिन जरुरी लाग्दैन । अब म धेरै अगाडी बढिसके…। मैले मेरो नाम खुलाउँदिन, किनकी मसँग उनी पनि बद्नाम भै दिन्छन् । उनको मान प्रतिष्ठामा आलोचना उठोस्, जो म चाहँदैन यसको मतलव म काँतर होइन, बिगतलाई कोट्याउन चाहँदैन । सबैको व्यक्तित्व एकैनासको हुँदैन, त्यसैले म अलि फरक छु । एक अपरिचित नारी बनेर म आफ्ना कदमहरुलाई निरन्तर अघि बढाउनेछु । धन्यवाद ।।
रितु खड्का पाल । कञ्चनपुर