सूचनाको शक्ति - The Power Of Information

        

सरकारी उदासिनता, बिरामीलाई सास्ती

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

लुम्बिनी प्रदेशमा ५८० भाइल मात्र रेबिजको भ्याक्सिन उपलब्ध रहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । भेरी अस्पताल नेपालगन्ज, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ ।

भ्याक्सिन अभाव भएसँगै लुम्बिनी प्रदेशमा कुकुरले टोकेका बिरामीलाई सास्ती भएको छ । सरकारी अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन् ।

भेरी अस्पतालमा उक्त भ्याक्सिन निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् । भेरी अस्पतालले जेठ २८ गते नै रेबिजविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नसकिनेबारे बिरामीको जानकारीको लागि सूचना टाँस गरेको थियो ।

अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्ण बुढाथोकीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक करिब १०० जना बिरामी भ्याक्सिन लगाउन आउँछन् ।

एउटा सुई दुई जना बिरामीलाई लगाइन्छ । अस्पतालमा निःशुल्क मिल्ने भ्याक्सिन अस्पताल बाहिर बिरामीले रु ६०० सम्ममा खरिद गर्न बाध्य छन् । अहिले बिरामीले आफैँ उक्त भ्याक्सिन खरिद गरी लिएर आएमा सो भ्याक्सिन लगाउने कार्य गरिएको छ ।

उक्त भ्याक्सिन निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा तत्काल अस्पतालमै भ्याक्सिन उपलब्ध हुनुपर्ने स्थानीयको माग छ । रेबिजविरुद्धको भ्याक्सिन उपलब्ध गराउन पहल नगर्दा भ्याक्सिन अभावमा गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ ।

यस्तै शान्तिनगर गाउँपालिका–२ का मेघराज डाँगीले घरमा पालेको कुकुरले पटक पटक गरी गाउँका तीन बच्चालाई टोक्यो । कुकुरले टोकेपछि रेबिजविरुद्ध भ्याक्सिन लगाउन उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए ।

शुरुमा उनले निःशुल्क भ्याक्सिन लगाएको भए पनि असारको पहिलो हप्ता फेरि अर्का बच्चालाई टोकेपछि खोप लगाउन आउँदा भ्याक्सिन पाएनन् । उनले निजी अस्पतालबाट साढे ६०० का दरले तीन वटा भ्याक्सिन किनेर ल्याएर लगाए ।

विगत डेढ महिनादेखि अस्पतालमा सेवा लिन आउनेहरू निजी अस्पतालबाट भ्याक्सिन किनेर लगाउँदै आएका छन् । सरकारले निःशुल्क रुपमा दिदैँ आएको भ्याक्सिन किनेर ल्याउनुपर्ने भएपछि उनीहरूले सरकारी अस्पतालमा आउनुको औचित्य नभएको गुनासो गरे ।

लामोसम्म यसरी भ्याक्सिन उपलब्ध गराउन नसक्नु राज्यको गैरजिम्मेवारी भएको उनीहरुको भनाई छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेढ महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।

पटकपटक भ्याक्सिनका लागि माग फाराम भरेर पठाए पनि अझै आउन नसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालले बताए । अस्पतालमा भ्याक्सिन नहुँदा बिरामीलाई निजी अस्पताल पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

रेबिजविरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ । तर, सरकारी अस्पतालमै भ्याक्सिन अभाव भएपछि निजी अस्पताल पठाउनुपर्छ । निजी अस्पताल पठाउँदा एउटा भ्याक्सिनलाई ७०० रुपैयाँसम्म पर्छ ।

पछिल्लो समय निजी अस्पतालमा पनि भ्याक्सिन अभाव हुने गरेको छ । निजी अस्पतालहरूले पनि प्राप्त मात्रामा भ्याक्सिन राख्न नमिल्ने बताउँछन् । केही इमरजेन्सीको लागि मात्र भ्याक्सिन राखिने उनीहरूको भनाइ छ ।

प्रादेशिक अस्पताल तुलसीपुरमा १० दिनमा करिब ३०० भ्याक्सिन खपत हुने गरेको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि भ्याक्सिन अभाव छ । विगत डेढ महिनादेखि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप पठाएको छैन ।

हाल प्रतिष्ठानमा दैनिक १५ जनासम्म रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउँछन् । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि विगत डेढ महिनादेखि भ्याक्सिन अभाव भएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक ४० जनासम्म यो खोपका लागि आउने गर्छन् ।

प्रदेशमा ५८० मात्र भाइल भ्याक्सिन स्टक

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रदेशमा ५८० भाइल भ्याक्सिन मात्र रेबिजको भ्याक्सिन उपलब्ध रहेको जनाएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले एक–दुई हजार भाइल खरिद गरेर सहज बजाउन प्रयत्न गरिरहेको समेत बताए ।

उनले भने, ‘भ्याक्सिनको लागि हामीले पटकपटक ताकेका गरिरहेका छौँ । तर, अझै नेपालमा दुई हप्तासम्म त्यो औषधि उपलब्ध नहुने भन्ने खबर हामीलाई शनिबार मात्र आएको छ । अहिले भएकै बाट सेवा दिन भनेर पत्रसमेत आएको छ ।’

पत्र प्राप्त भएसँगै प्रदेशका अर्थमन्त्रीसँग समन्वय गरेर केही रकम तत्कालीन रुपमा व्यवस्था गरेर एक–दुई हजार भाइल खरिद गरेर सहज बजाउन प्रयत्न गरिरहेको समेत उनले बताए । भ्याक्सिन निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १०:२३