सूचनाको शक्ति - The Power Of Information

        

कमैया मुक्ति घोषणाका २३ वर्ष

आज कमैया मुक्ति दिवस, ‘मुक्त कमैयाको पुनःस्थापना नहुँदा बिचल्ली’

पुनःस्थापित हुन नसकेका मुक्त कमैया परिवार सार्वजनिक जमिनमा कष्टकर जीवन बिताइरहेका छन् ।

आज साउन २ गते अर्थात् कमैया मुक्ति दिवस । कमैया मुक्ति घोषणा भएको २३ वर्ष पूरा भएको छ । दास प्रथाका रूपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अवैध भएको ठहर गर्दै सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार ५०० कमैयालाई मुक्त घोषणा गरेको थियो ।

मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुनःस्थापना नहुँदा बिचल्ली भएको छ । मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनः स्थापना गरे पनि कतिपय परिवारको अझै पुनःस्थापना हुन सकेको छैन । पुनःस्थापित हुन नसकेका मुक्त कमैया परिवार सार्वजनिक जमिनमा कष्टकर जीवन बिताइरहेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नहुनु दुःखद् रहेको बताएका छन् । २३ औँ कमैया मुक्ति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए ।

दुई पालिकामा बिदा

कमैया मुक्ति दिवसको अवसरमा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन् । पालिकादेखि स्वास्थ्य संस्था तथा विद्यालयसम्म बिदा दिएको दुवै पालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०९:३९