सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अढाई अर्ब विकास बजेट फ्रिज

सङ्घ र प्रदेशका कार्यालयतर्फ बाँकेमा विनियोजन भएको विकास बजेटमध्ये आर्थिक वर्ष २०७९–०८० मा झण्डै अढाई अर्ब रुपैयाँ खर्च नभएर फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका अनुसार सङ्घीय विनियोजनतर्फ पुँजीगततर्फ आठ अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ अर्ब २१ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालु खर्चतर्फ १२ अर्ब २१ करोड रुपैयाँ बजेट रहेकोमा ११ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो ।

कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी शरदकुमार बरालका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा पुँजीगततर्फ आठ अर्ब ६८ करोड रुपैयाँ बजेट रहेकोमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको थियो ।

यस्तै लुम्बिनी प्रदेशतर्फ पुँजीगततर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड ८२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । गत आव २०७८–०७९ मा पुँजीगत बजेट दुई अर्ब १९ करोड रहेकोमा एक अर्ब ७१ करोड रुपैयाँ खर्च भएको थियो ।

यसैगरी चालु खर्चतर्फ एक अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन रहेकोमा एक अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । बाँकेमा गत आवमा २४ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो रकम अघिल्लो आव २०७८–०७९ भन्दा करिब चार अर्ब रुपैयाँले कमी हो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार २०:५३