सूचनाको शक्ति - The Power Of Information

        

सुशील कोइराला क्यान्सर अस्पताललाई भारत दियो ‘एम्बुलेन्स र बस’

बाँकेको खजुरास्थित पश्चिम नेपालकै एक मात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले प्रदान गरेको एम्बुलेन्स र बस ।

बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले एउटा एम्बुलेन्स र एउटा बस प्रदान गरेको छ ।

बाँकेको खजुरास्थित पश्चिम नेपालकै एक मात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निरज भट्टराईलाई भारत सरकारले एम्बुलेन्स र बस हस्तान्तरण गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.भट्टराईले एम्बुलेन्स र बसको अभावमा नेपालगन्जबाट टाढा रहेको सो अस्पतालमा आउने बिरामीलाई समस्या परेकोले अब सहज र सरल हुने बताए ।

नेपालगन्जदेखि आठ किलोमिटर पश्चिममा रहेको सो अस्पतालसम्म पुग्न स्थानीय यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको व्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीले निकै सास्ती खेप्न परिरहेको थियो ।

डा.भट्टराईले अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने बिरामीलाई निकै सहज हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारत सरकारलाई धन्यवाद दिए ।

धार्मिक अगुवा सन्त दीनदयालजीको सङ्कल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारले सञ्चालन गर्दै आएको छ ।

अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकांश क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने बाध्यता समाप्त भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.भट्टराईलाई पछिल्लो समयमा क्यान्सर अस्पतालले सञ्चालन गरेका विभिन्न अति आवश्यक सेवा र सुविधाबाट पश्चिम नेपालको तीन वटा प्रदेशका सयौं बिरामी लाभान्वित भइरहेको बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार २०:३६