कल्पना गर्नुस् त ! तपाईं काम विशेषले कतै जाँदै हुनुहुन्छ र अचानक बाटोमा जुत्ताको सोल उप्किन्छ या चप्पल चुँडिन्छ । एउटा मनस्थिति बनाएर काममा हिँडेको तपाईं पक्कै छट्पटिनुहुन्छ । तपाईंसँग नयाँ जुत्ता–चप्पल किन पर्याप्त पैसा नहुन पनि सक्छ । अनि यस्तो बेला कोही जुत्ताचप्पल सिलाउने कोही छ कि भनेर यताउति हेर्नुहुन्छ वा यसबारे कसैलाई सोध्नुहुन्छ ।
यस्तै समस्याको समाधान हुन् किसनराम चमार । सर्लाही जिल्ला रामनगर गाँउपालिका वडा नं ४ बहुहारवामा जन्मिएका किसन ४१ वर्षका भए । उनका किसान बुवा मडु महरा चमारले साहुहरूको खेती कमाउँदै परिवार पाल्दै आएका थिए । तर उनी अहिले ८३ वर्षका भए । खेतीपाती गर्न सक्देनन् । बुवाले गरिआएको कृषि पेसा मन नपरेर आफैं केही गर्छु भनी १५ वर्षको उमेरमा किसन काठमाडौँ आएका थिए ।
‘घरको जेठो छोरा भएपछि जिम्मेवारीले पोल्न थाल्यो,’ किसन सुनाउँछन्, ‘अरुको खेतबारी कमाएर वर्षमा एक–दुई बाली भित्र्याएर मात्रै भएन, आफूले पाँचभन्दा बढी कक्षा नपढे पनि भाइबहिनीलाई चाहिँ पढाउनुपर्छ भन्ने सोच जाग्यो । त्यसैले सानै उमेरमा काठमाडौँ आएर संघर्ष गर्न थालें ।’ किसन पहिलो पटक काठमाडौं आँउदा खानबस्न समस्या भएन । पहिल्यैदेखि साथी गगनदेव चमार आएर बसेका थिए ।
किसन उहाँसँगै बस्नु थाले । एकाध दिन बसेपछि सधैँ बसेर खान पाइने थिएन । संघर्षका दिन बल्ल सुरु भए । ‘गगनले बिहानैदेखि जोरपाटी, मेडिकल कलेज, सुन्दरीजल, आरुबारी, कपन, चाबहिल, चुनीखेलमा जुत्ता सिलाउने काम सिकाउन लग्यो,’ किसन भन्छन्, ‘आफू दुब्लो पातलो थिएँ । त्यसैमाथि १५ वर्षे ठिटो । आवश्यक सामान बोकेर हिँड्न कठिन हुन्थ्यो । सुरु–सुरुमा लाज पनि लाग्थ्यो ।’
यसरी दुई जनाले दुःख गर्दा दिनमा डेढ सयदेखि दुई समयसम्म कमाइ हुन्थ्यो । गल्लीगल्लीमा गएर ‘जुत्ताचप्पल सिउने आयो’ भन्दै हिँड्नुभयो । कतिले गाली पनि गरे । ‘धोती’ भनेर अपहेलना पनि गरे । तर बिस्तारै बानी पर्दै गयो । ‘बानी परेपछि जे भने पनि चुप लागेर बस्ने र आफ्नो काम गर्न थालेँ,’ किसनले सुनाए । काठमाडौँ आएको तीनदेखि चार महिनाभित्र काम सिकेका रहेछन् ।
‘ऋणको भारी र घरपरिवारको कमजोर आर्थिक अवस्था भएपछि काम पनि छिटो सिकिने रहेछ,’ किसनले भने, ‘काम सिकेपछि केही आशा जाग्यो ।’ काम सिकेर यसैमा भविष्य देखेका किसनले समय बित्तै पत्तै पाएनन् । काठमाडौँ आएको ९ वर्षपछि रौतहटकी गंगाजल देवी चमारसँग मागी बिहे गरे । दुई छोरा जन्मिए । उनीहरूलाई हुर्काउँदा, बढाउँदा र पढाउँदा ऋण लाग्यो । त्यही ऋण तिर्न फेरि काठमाडौँ आउनुपरेको कथा किसनले सुनाए ।
वर्षौंको मिहिनेत र लगावले हिजोआज कमाइ पनि राम्रै हुँदै गएको छ । ‘अहिले दिनको एक हजारदेखि १५ सयसम्म हुन्छ,’ उनी सुनाउँछन्, ‘असोजदेखि माघसम्म जाडो याममा मासिक ६० देखि ७० हजारसम्म कमाइ हुन्छ । अरु बेला ३५ देखि ४० हजारसम्म हुन्छ ।’ दुई दशक लामो यो पेसामा किसनले अहिलेसम्म सबैभन्दा धेरै दिनको २७ सय र सबैभन्दा कम ७० रुपैयाँ कमाएका छन् ।
सामान्यतः पाँच हजारको लगानीबाट यो काम सुरु गर्न सकिने किसनको अनुभव छ । यही दुःख गरेर छोराहरूको अध्ययन सकेसम्म पूरा गरिदिने किसनुको धोको छ । नत्र विकल्पमा विदेश पठाइदिने सोच राखेका छन् । ‘तर छोराहरूलाई आफूले गरेको काममा हात पनि लगाउन दिन्नँ,’ किसन भन्छन् । कागेश्वरी मनोहरा–८ किरातचोकमा बस्दै आहिरहेका किसनको जीविकोपार्जन यही सिलाइ पेसाले गरिरहेको छ । छोराले पनि यसकै आधारमा पढिरहेका छन् । सबै खर्चको स्रोत पनि यही हो ।
सत्यपाटी संवाददाता । काठमाडौं