सूचनाको शक्ति - The Power Of Information

        

सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गर्न सरकारको नाममा आदेश दिएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न र राउतलाई पनि उपस्थित गराउन सरकारको नाममा सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बाटाको म्यादबाहेक २४ घण्टाभित्र राउतसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

गएको आइतवार पक्राउ परेका राउतलाई रिहाइको माग गर्दै उहाँकी श्रीमती उषा कार्की राउतले हिजो बुधवार बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १८:०६