यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा सवारी लाइसेन्स लिँदा स्वास्थ्य परिक्षण अनिवार्य गर्नुपर्छ । यसरी स्वास्थ्य परिक्षण गर्न कति रुपैयाँ लाग्ला ? ५००, १००० वा त्यो भन्दा बढी ? अब सेवाग्राहीले सोचेभन्दा पनि सस्तोमा स्वास्थ्य परिक्षण गर्न पाउनेछन् ।
सामान्य शुल्कमै स्वास्थ्य परिक्षण गर्न पाउँदा सेवाग्राही अचम्मित मात्रै होइन दङ्गसमेत बनेका छन् । सेवाग्राहीले सोचेभन्दा निकै कम मूल्यमै स्वास्थ्य परिक्षण हुन्छ भने स्वास्थ्य परिक्षणपछि रिपोर्टका लागि लामो समय कुनुपर्दैन । केहीबेरमै रिपोर्ट प्राप्त भइसक्छ ।
स्वास्थ्य परिक्षणका तपाईले लागि ९ रुपैयाँ र फाराम भर्न १० रुपैयाँ गरी जम्मा १९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो रगत परिक्षण भने हुँदैन । रगत परिक्षणका लागि १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । केही मिनेटमै स्वास्थ्य परिक्षणको रिपोर्ट पाइने भएकाले सेवाग्राहीलाई पनि सहज भएको छ ।
यसअघि स्वास्थ्य परिक्षण गर्न १८० रुपैयाँ लाग्ने गर्दथ्यो । सेवाग्राहीहरुको रक्तचाप, आँखा र शारीरिक अवस्था लगायतका कुराहरुको जाँच गर्ने गरिएको यातायात कार्यालयका सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्दै आएको अर्चना स्वास्थ्य परामर्श सेवाले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके