सूचनाको शक्ति - The Power Of Information

        

किसान भन्छन्, ‘छोराछोरी पाल्ने कि बाँदर ?’

गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ । एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उनले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गरेका छन् ।

गुल्मी दरबार गाउँपालिकाले वडा नम्बर २ को जुभुङमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय सरकारले बाँदर नियन्त्रणमा चासो नदेखाए आफूहरूले लगाएको अन्न बाली घरभित्र ल्याउन नपाइने अवस्था आएको भन्दै उनले खेतीपाती गरेर घरका छोराछारी पाल्नेभन्दा पनि जङ्गलका बाँदर पाल्ने मात्रै काम भएको गुनासो पोखे ।

उनले भने, ‘खेतबारी स्याहारेर घरका छोराछोरी पाल्ने कि जङ्गलका बाँदर पाल्ने ? यथार्थमा खेतीबाली लगाएर बाँदर पालेको जस्तो भएको छ ।’ अर्का स्थानीय श्रीराज खड्काले जङ्गली जनावरले किसानले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले जङ्गली जनावर नियन्त्रण गरिदिन स्थानीय सरकारसँग माग गरे ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बाँदरको समस्या देशैभरि भएको बताउँदै केन्द्रले समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । पहिले पनि गाउँपालिकाले बाँदर धपाउने बन्दुक प्रयोग गरेको उदाहरण दिँदै उनले त्यसले पनि समस्या समाधान नभएको र गाउँ वा टोलका सबै मिलेर बाँदर धपाउन लाग्नुपर्नेबाहेक अन्य विकल्प नभएको बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १३:१७