सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो ।

जसअन्तर्गत हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाइएको छ । गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो ।

नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो । प्राधिकरणले यसबाहेक उडानलाई सुरक्षित बनाउन थप चार वटा निर्णय गरेको छ । जो यस प्रकार छन् :

१) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन ।
२) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडान लगायत हेलिकप्टर सञ्चालन अनुमति ।
३) उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने ।
४) कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ०९:०५