गत ११ मंसिरमा माओवादी अध्यक्ष प्रचण्डले शीतलनिवासमा प्रधानमन्त्रीका रूपमा शपथ लिँदा पत्नी सीता दाहाल त्यसको साक्षी बन्न सकिनन् । अघिल्ला दुईपटक प्रधानमन्त्रीको शपथ लिँदा शीतलनिवास पुगेकी उनी प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्दाचाहिँ खुमलटारस्थित निवासमा जीवनमरणको संघर्ष गरिरहेकी थिइन् । दिनभरका राजनीतिक दौडधुप सकेर साँझ घर फर्कँदा प्रधानमन्त्री प्रचण्डले ओछ्यानमा अचेत अवस्थाकी सीताको अनुहार हेरेर ‘रिलिफ’ महसुस गर्थे ।
सरकार सञ्चालनका जटिलतै–जटिलता, सत्ता राजनीतिको दाउपेच, आफ्नै पाटीभित्रको भाँडभैलो र आरोप–प्रत्यारोपको दिनभरिको भुमरीबाट निस्केर बालुवाटार जाँदा प्रधानमन्त्री प्रचण्डसँग बिरामी पत्नी सीता सँगै हुन्थिन् । तर, त्यही पनि बुधबारबाट टुटेको छ । ६९ वर्षको उमेरमा सीताको निधन भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनको परिवारमाथि ठूलो बज्रपात भएको छ ।
सीता लामो समयदेखि बिरामी थिइन् । पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभलगायत रोगबाट ग्रसित थिइन् । पुत्र प्रकाशको अल्पायुमै भएको मृत्युपछि शिथिल बनेकी उनी कहिल्यै तंग्रिन सकिनन् । ०७४ मंसिरको निर्वाचनको दौडधुप सकेर निवास आएका प्रकाशको हृदयाघातका कारण मृत्यु भएको थियो । युवा छोराको निधनले विक्षिप्त बनेकी सीता अधिकांश समय ‘बेड’मै बिताएर अस्ताइन् ।
जेठी छोरी ज्ञानुको ०७० मा क्यान्सरका कारण निधन भएपछि सीता निकै कमजोर भएकी थिइन । पति प्रचण्ड र परिवारका अरू सदस्यले क्रमशः आत्मविश्वास भर्दै लगेपछि उनी नियमित दैनिकीमा फर्केकी थिइन् । सत्ता राजनीतिका सबै खेल नजिकबाट देखिरहेकी उनी पति प्रचण्डलाई हरसम्भव सहयोग गरिरहेकी हुन्थिन् । तर, पुत्रीवियोगको पीडाबाट राम्ररी निस्कन नपाउँदै सीताले एक मात्र छोरा प्रकाश गुमाइन् । र, प्रकाश अस्ताएपछि अँध्यारोमै बित्यो सीताको जीवन ।
राजनीतिमा पाउने र गुमाउने नेताको कौशलतामा भर पर्छ । तर, पारिवारिक विपत्ति र त्रासदी कसैको नियन्त्रणमा हुँदैन । यही नियति प्रचण्डले भोगे । एक दशकको अवधिमा उनले एक छोरी, एक छोरा र पत्नी गुमाए । शान्ति प्रक्रियामा आएपछि उनले बुबा मुक्तिराम पनि गुमाए । चार सन्तानमध्ये प्रचण्डसँग दुई छोरी रेनु र गंगा छन् ।
श्रीमान्विरुद्ध पार्टीभित्रैबाट चौतर्फी घेराबन्दी र जेठी छोरी ज्ञानुको निधनले सीतालाई असहज बनाएको थियो । त्यही पीडाले सीतालाई गम्भीर बिरामीतिर धेकेलेको पत्तै भएन । ०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि सीताको मनमा चैन थिएन । छटपटी र चिन्ताले सताइरह्यो, रोगले च्याप्दै गयो । छोरा प्रकाशको अभावले उनी थला परिन् ।
माओवादी जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि प्रचण्डपत्नीका रूपमा रातारात सीताको नाम राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै स्थापित भयो । माओवादी शक्ति र सत्तामा आएपछि सम्भवतः सीतालाई नाम र दामको अभाव कहिल्यै भएन् । तर, क्यालेन्डरमा पाना फर्काएर हेर्दा प्रचण्डसँग उनले बिताएका ५५ वर्ष चलचित्रको कथाजस्तो उतारचढावपूर्ण छ, जहाँ सुखसयलभन्दा दुःख, पीडा र अभावका क्षण धेरै छन् ।
ग्रामीण परिवेशमा २१ असार ०११ मा मध्यमवर्गीय परिवारमा जन्मिएकी थिइन् सीता । उनको १५ वर्षको उमेरमा ०२६ मा पुष्पकमल दाहालसँग विवाह भयो । आफूभन्दा ६ महिना कान्छो पुष्पकमलसँग उनले विवाह गरेकी थिइन्, जतिवेला पुष्पकमल कक्षा १० मा पढ्दै थिए । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै वर्ष चितवन झरेको थियो । सीताका लागि टाठो र पढे–लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारेका थिए । तर, पुष्पकमलले रोजगारी गर्ने र घरपरिवार खुसी बनाउने बाटो लिएनन् । उनले व्यवस्था बदल्ने संघर्षको बाटो समाते । सीता त्यसको सहयोगी भएर काम गरिन् ।
कान्छी छोरी जन्मेको वर्ष पुष्पकमल कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्किए । त्यसपछि पञ्चायती प्रशासनको यातना खेप्न दाहाल परिवार बाध्य भयो । त्यसको सबैभन्दा ठूलो मार सीतालाई पर्यो । प्रहरीको दमनबाट जोगिन्छ कि भनेर बुबा मुक्तिरामले उनीहरूलाई छुट्याइदिएका थिए । त्यसको दुई वर्षमा लालाबालासहित पुष्पकमलले सीतालाई भरतपुर सारे ।
बालबच्चा पनि ठूला हुँदै थिए । तीन छोरी र एक छोराकी आमा सीताले चाहेअनुसार बच्चाबच्चीलाई पढाउन सकिनन् । त्यसमा सीताको भन्दा श्रीमान्ले लिएको राजनीतिक बाटो मुख्य कारण थियो ।
०४६ को जनआन्दोलनपछि सीता श्रीमान्सँग नछुट्टिने गरी काठमाडौंं आइन्, तर त्यो खुला परिवेश आधा दशक पनि भएन । पुष्पकमल प्रचण्ड बनिसकेका थिए । उनको पार्टीले सशस्त्र क्रान्तिमा जाने निर्णय गरिसकेको थियो ।
जनयुद्धको अन्तिम तयारीका क्रममा प्रचण्डले एक दिन सीतालाई ‘युद्धमा जे पनि हुन सक्छ । तिमीले बालबच्चाको हेरचाह गर्नू’ भनेका थिए । सीताले प्रचण्डलाई रोक्ने कोसिस गरिनन् । बरु, आफू पनि सँगै युद्धमा जाने बताइन् ।
सीताको आत्मविश्वास देखेपछि प्रचण्डले पनि नकार्न सकेनन्, सीता पनि जनयुद्धमा होमिइन् । दशवर्षे युद्धको नेतृत्व गरेका प्रचण्डको पत्नीको हैसियतमा सीताले त्यसभित्रका सबै तस्बिर मानसपटलमा राखिन् । गाउँले परिवेशदेखि सशस्त्र संघर्षसम्मलाई सीताले नजिकबाट नियालिन् ।
१ फागुन ०५२ मा जनयुद्ध सुरु भएर केही स्थानका प्रहरी कार्यालयमा माओवादीले आक्रमण गर्दा प्रचण्ड र सीता काठमाडौंमै थिए । तर, लगत्तै प्रचण्डले राजधानी छाडे । कहिले देशका विभिन्न कुनाकाप्चा त कहिले परदेश पुगे । प्रचण्ड जहाँ पुगे सीता सँगसँगै त्यही पुगिन् । प्रचण्डलाई उनले कहिल्यै एक्लै छाडिनन् । कहिले काठमाडौं, कहिले भारत, कहिले रोल्पा–रुकुम, जहाँ प्रचण्ड त्यहीँ सीता । पार्टीको सेनाको भन्दा बढ्ता सुरक्षा कवजका रूपमा सीता उभिइन् ।
जनयुद्धका आरोह–अवरोहमा सीताले हरतरहले प्रचण्डलाई साथ दिइन् । औपचारिक अध्ययन धेरै नभए पनि सीतामा बुझाइ र चेतनास्तरमा अद्भुत क्षमता थियो । प्रचण्ड कहिलेकाहीँ भावुक भएर बोल्दा सीताले सम्झाउने गर्थिन् । प्रचण्ड भावुक हुँदा र धेरै बोल्न थालेपछि सीताले भन्थिन्, ‘धेरै बोल्दा कुरा बिग्रिन्छ ।’ माओवादी नेताहरूका अनुसार जस्तोसुकै कठिन परिस्थितिसँग जुध्न सक्ने साहस र क्षमता सीतामा थियो ।
सीताले जीवनभर प्रचण्डको सल्लाहकारको भूमिका निर्वाह गरिन् । यसद्धकालमा होस् वा शान्तिकालमा पार्टी नेताहरूबीचको विवादमा ‘न्यायाधीश’ बन्ने कोसिस गरिन् । ‘पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि ०५२ देखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो,’ शोक वक्तव्यमा माओवादी महासचिव देव गुरुङले भनेका छन् ।
सीताको अद्भुत क्षमता देखेरै डा. बाबुराम भट्टराईले पार्टीको सल्लाहकार बनाउन सिफारिस गरेको नेतृ हिसिला यमी बताउँछिन् । ‘सीता दाहालको क्षमता देखेरै बाबुरामजीले सल्लाहकारको प्रस्ताव गर्नुभएको हो । त्यसमा मेरो पनि साथ र समर्थन थियो,’ यमीले स्मरण गरिन् ‘संघर्षबाट खारिएर आउनुभएकी सीता असाध्यै पाको हुनुहुन्थ्यो ।’ प्रचण्ड र बाबुराम तीन दशकभन्दा बढी सहकार्य गर्दा सीता र हिसिला पारिवारिक रूपमै नजिक थिए । लामो समय नजिक भएकाले एकले अर्कालाई राम्रोसँग बुझ्ने मौका पाएका थिए ।
०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता पछिल्लो समय माओवादी सल्लाहकारको भूमिकामा थिइन् । ‘उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो,’ शोक वक्त्व्यमा छ ।
माओवादी महासचिव देव गुरुङ सीताको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउँछन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको गुरुङको मत छ । ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ,’ उनले भनेका छन् ।
युद्धकालमा प्रचण्डदम्पती धेरैपटक मृत्युको मुखबाट बच्न सफल भए । कुन माओवादी नेता–कार्यकर्ता कहाँ मारिन्थ्यो टुंगो थिएन । पलपलमा अवस्था जे पनि हुन सक्थ्यो । संकटपूर्ण अवस्थामै तीन छोरी ज्ञानु, रेनु र गंगाको विवाह भयो । रेनुसँग छोरा प्रकाश पनि सँगै बस्न मिल्ने भएपछि प्रचण्डदम्पतीलाई अगाडि बढ्न सहज भयो । जतिवेला देश हल्लाउने युद्ध गर्ने पार्टी हेडक्वार्टर नै प्रचण्डको डेरा र झोला थियो । प्रचण्ड जहाँ त्यहीँ ‘एकक्यु’ अर्थात् हेडक्वार्टर हुन्थ्यो ।
सीताले कहिले प्रचण्डलाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काएकी थिइन् भने कतिपय अवस्थामा सावधान गराएर जोगाएकी थिइन् । प्रचण्डको स्वास्थ्यमा सीता उत्तिकै सचेत थिइन् । सीतामा राजकीय भ्रमण जाँदासमेत असाध्यै सोझोपन हुन्थ्यो ।
माओवादी नेताहरूका अनुसार जनयुद्धमा मात्रै होइन, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने काममा पनि सीताको महत्वपूर्ण भूमिका छ । १२ बुँदे सहमति गरेर राजतन्त्र अन्त्य गर्ने प्रयोजनका लागि प्रचण्डसँगै सीता पनि रोल्पा–रुकुमबाट दिल्ली पुगेकी थिइन् ।
जनआन्दोलन सफल भएर नयाँ सरकार बनेपछि नेपाल सरकारका तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले कास्कीको सिकलेसबाट प्रचण्डदम्पतीलाई हेलिकोप्टर चढाएर बालुवाटार प्रवेश गराएका थिए । जनयुद्ध अन्त्य भएपछि सीताले शान्ति सम्झौतामा टिकिरहन प्रचण्डलाई निरन्तर सल्लाह र दबाब दिइरहिन् ।
शान्ति सम्झौताको केही वर्ष बित्न नपाउँदै ०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादी देशकै सबैभन्दा ठूलो पार्टी बन्यो । प्रचण्ड गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने भने सीता देशको प्रथम महिला । अन्तर्मुखी स्वभावकी सीता निकै संवेदनशील र भावुक थिइन् । देश र जनताको अवस्था बदल्नुपर्छ भन्ने उनको दृढ मत थियो । उनको भावुकता र संवेदनशीलताबाट माओवादी नेता तथा कार्यकर्ता प्रभावित थिए ।
प्रधानमन्त्रीका श्रीमती विवादमा फस्ने गरेका उदाहरण पनि छन् । तर, सीता कहिल्यै विवादमा परिनन् । राजसी ठाँट र घमन्ड उनमा कहिल्यै देखिएन । पत्नीका कारण प्रचण्डले कहिल्यै विवाद खेप्नुपरेन । पारिवारिक झमेला भने सीताले व्यहोरिरहनुपर्यो ।
सीताको उपचारमा प्रचण्डले हरसम्भव सबै प्रयास गरे । नेपालमा मात्रै होइन, उपचारका लागि भारत, सिंगापुर अमेरिका पनि पुर्याए । तर, सीतालाई निको भएन । श्रीमान् तेस्रोपटक प्रधानमन्त्री बनेको त सीताले पत्तै पाइनन् । केही वर्षयता प्रचण्डले सीताको सल्लाह, सुझाव होइन, बोलीसमेत सुन्न पाएका थिएनन् । बुधबार भने सीता भौतिक रूपमै सदाका लागि बिदा भइन् ।
प्रधानमन्त्रीपत्नीका रूपमा विश्वका शक्तिशाली नेतासँग भेट गर्ने अवसर पनि उनले पाइन् । राष्ट्रिय राजनीतिका अनेक मोडको साक्षी पनि बनिन् । सीता नेपाली राजनीतिका लागि अध्ययनको पात्र थिइन् । तर, उनी अस्ताएसँगै दशवर्षे जनयुद्ध, शान्ति प्रक्रिया र प्रचण्डलाई सबैभन्दा नजिकबाट बुझ्ने पात्र पनि गुमेको छ । तैपनि नेपाल राजनीतिक इतिहासमा प्रचण्डसँगै सीताको नाम पनि कायम रहनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ