नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ ।
लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले पछिल्लो समय आफ्नो विधान आफैं कुल्चँदै आएको हो ।
लोकतान्त्रिक मूल्यमान्यता बोकेको दल कांग्रेसका हरेक नेताकार्यकर्ताले विधिको शासनको कुरा गर्ने तर, विधि र विधानमाथि ‘कु’ गर्न पछि नपर्ने गरेका तथ्यहरू प्रशस्त छन् ।
पार्टीको केन्द्रीय नेतृत्वले नै विधानविपरीत कार्यहरू गर्दै आएपछि मातहतका समिति तथा भ्रातृ संगठनहरूसमेत विधानअनुसार चल्न नसकेको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले बताउनुभयो ।
पार्टीको चालचरित्र र चेहरा परिवर्तनको एजेन्डासहित कांग्रेस रूपान्तरणको अभियान चलाएका घिमिरेले मूल नेतृत्वबाटै पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कांग्रेसको मूल नेतृत्वबाटै विधानमाथि ‘कु’ भएको छ । मुलुकको लोकतान्त्रिक दल कांग्रेसका नेताहरूले नै विधानअनुसार पार्टी नचलाउँदा नेताहरूको नैतिक धरातलसमेत गुमेको छ ।
पार्टीको साख निरन्तर ओरालो लागिरहेको अवस्थालाई ख्याल गरेर हामीले त्यसलाई बदल्नुपर्नेछ । यसो गर्दा पार्टी नेतृत्व नै परिवर्तनको अवस्थासमेत आउन सक्छ ।’
सत्यपाटी संवाददाता । काठमाडौँ