पाइलटसहित ६ जनाको ज्यान गएको मनाङ एयरको कलसाइन ९एन–एएमभी हेलिकोप्टर इनरुटमा एक्कासि मौसम खराबीका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । इनरुटमा मौसम बिग्रिएपछि सुरक्षित अवतरणका लागि ठाउँ खोज्दाखोज्दै रूखमा ठोक्किएर दुर्घटनामा परेको हो ।
नेपाल घुम्न आएका पाँच मेक्सिकन नागरिक बोकेर पाइलट चेतबहादुर गुरुङले सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि बिहान १०ः०५ बजे हेलिकोप्टर उडाएका थिए । तर, उडेको आठ मिनेटमै सम्पर्कविहीन भएको थियो । १०ः१३ मा लुक्ला टावरमा अन्तिमपटक सम्पर्क भएको होलिकोप्टर सोलुकै लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटनामा पर्यो ।
‘हेलिकोप्टर लामजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्ना साथ सम्पर्कविच्छेद भएको थियो,’ लुक्ला विमानस्थलका एटिसी अफिसर सागर कँडेलले भने, ‘सम्पर्कमा रहँदासम्म पाइलटले मौसम सफा रहेको र यात्रामा कुनै समस्या नरहेको बताएका थिए ।’
ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा झरेपछि च्यानडाँडाबाट चौँरीगोठालाहरूले लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्कीलाई फोन गरेका थिए । ‘हेलिकोप्टर जंगलमा खसेको भनेर मलाई चौँरीगोठालाहरूले फोन गरे,’ कार्कीले भनिन्, ‘त्यस क्षेत्रमा मौसम परिवर्तन भइरहने र बाक्लो हुस्सु लागिरहने भएकाले दुर्घटना भएको हुन सक्छ, मौसम खराबीका कारण उद्धारमा समेत समस्या भयो ।’ खोजी तथा उद्धारका लागि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईको नेतृत्वमा नेपाली सेना, प्रहरी र अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
नेपाल भ्रमणमा आएका मेक्सिकन नागरिक सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक सोमबार लुक्ला पुगेका थिए । तर, प्रतिकूल मौसमका कारण उडान सम्भव नभएपछि उनीहरू एकरात त्यहीँ बसेर मंगलबार माउन्टेन फ्लाइट गरेका थिए । उनीहरू सबैको मृत्यु भएको क्यानले पुष्टि गरेको छ । शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटना भए पनि आगो नलागेको सोलुखुम्बुका प्रहरी प्रमुख दीपक श्रेष्ठले बताए । ‘प्रायः हवाई दुर्घटनामा आगलागी भएको पाइन्छ, तर यो रूखमा ठोक्किएर बजारिएको देखिन्छ, आगो नलागेकाले कसैको पनि शरीर जलेको छैन,’ उनले भने, ‘आधा घन्टा लगाएर प्रहरीले शव निकालेपछि दुईवटा हेलिकोप्टरमा हालेर काठमाडौं पठाइएको छ ।’
सहसचिव लामिछानेको संयोजकत्वमा जाँचबुझ आयोग
सरकारले मंगलबार भएको हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बद्धिसागर लामिछानेको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो । यसअघि पनि सरकारले हवाई दुर्घटना हुनेबित्तिकै छानबिन समिति/आयोग गठन गर्दै आएको छ । तर, आयोगले दुर्घटना कम गर्नका लागि सुझावसहित बुझाउने अध्ययन प्रतिवेदन भने प्रभावकारी कार्यान्वयन नहुने गरेको गुनासो छ ।
लुक्लामा बचेका क्याप्टेन लामजुरामा अस्ताए
चार वर्षअघि लुक्ला विमानस्थलमा समिट एयरको जहाज हेलिकोप्टरमा ठोक्किएर भएको दुर्घटनामा भाग्यले बाँचेका पाइलट चेतबहादुर गुरुङ लामजुरा दुर्घटनामा अस्ताएका छन् । १ वैशाख ०७६ मा (नयाँ वर्षको दिन) लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिटको जहाज धावनमार्गबाट चिप्लिएर हेलिपोर्टमा बज्रिन पुगेको थियो । हेलिपोर्टमा मनाङ र श्री एयरलाइन्सका हेलिकोप्टर पार्किङ गरिएको थियो । सो दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको ज्यान गएको थियो । उक्त समय पाइलट गुरुङ मनाङ एयरको हेलिकोप्टरको ककपिटमै थिए । दुर्घटनामा घाइते भएका उनलाई तीन महिना अस्पतालमा बस्नुपरेको थियो । अनुभवी पाइलटका रूपमा परिचित ५५ वर्षीय गुरुङ १० वर्षदेखि मनाङ एयरमा आबद्ध थिए । उनले गोरखा एयर, श्री एयरलगायत कम्पनीका हेलिकोप्टर उडाएका थिए । उनीसँग सात हजार घन्टा हवाई उडानको अनुभव थियो ।
वर्षमै चार ठूला हवाई दुर्घटना
नेपाली आकाशमा हवाई दुर्घटनाको संख्या अत्यासलाग्दो गरेर बढेको छ । पछिल्लो १३ महिनामै चारवटा ठूला दुर्घटना भएका छन् । जसमा चालक दलका सदस्यसहित सयजनाले ज्यान गुमाएका छन् । १५ जेठ ०७९ देखि मंगलबारसम्म दुईवटा फिक्स विङ जहाज र दुईवटा रोटर विङ हेलिकोप्टर ठूलो दुर्घटनामा परेका हुन् । जसमा तारा एयरको ट्विनअटर र यती एयरको एटिआर ७२ जहाज तथा सिम्रिक र मनाङ एयरको हेलिकोप्टर रहेका छन् । यही बिचमा एयर डाइनेष्टी र हेली एभरेष्टको हेलिकोप्टर पनि सामान्य दुर्घटनामा परेका थिए ।
पछिल्लोपटक मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पर्यो । इनरुटमा एक्कासि मौसम बिग्रिँदा भएको दुर्घटनमा पाइलट क्याप्टेन चेत गुरुङ र पाँच मेक्सिकन नागरिकको दुर्घटनास्थलमै मृत्यु भयो ।
यसबाहेक एकै वर्षमा मानवीय क्षति हुनेगरी अन्य तीन हवाई दुर्घटना भएका छन् । १५ जेठ ०७९ मा पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको ट्विनअटर जहाज थासाङ गाउँपालिका– २ सानुसरेमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पाइलटसहित २२ जनाको ज्यान गएको थियो । ताराको जहाज पनि इनरुटमा एक्कासि मौसम बिग्रिँदा दुर्घटनामा परेको थियो । जहाज उडिरहेको वेला एक्कासि हुस्सु लागेको अवस्थामा अगाडिका डाँडाकाँडा र सम्भावित जोखिमबारे जानकारी (वार्निङ) दिने सिस्टम ‘टिएडब्लुएस’ नै अफ गरेर उडान गर्दा जहाज दुर्घटनामा परेको दुर्घटना जाँच आयोगको निष्कर्ष छ । वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनमा को–पाइलटलाई सम्बन्धित सेक्टरको उडानमा कम अनुभव हुनु पनि जहाज दुर्घटनाको कारण रहेको उल्लेख छ । पाइलट क्याप्टेन प्रभाकर घिमिरे र को–पाइलट उत्सव पोखरेल थिए ।
त्यस्तै, १ माघमा यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखराको सेती खोँचमा दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । यतीको जहाज दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो हो ।
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमतर्फबाट अवतरण गर्ने क्रममा दुवैतर्फका इन्जिनको प्रोपेलर फेदरमा जाँदा जहाज दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । इन्जिनको प्रोपेलर फेदरिङ भएपछि इन्जिन चलिरहे पनि जहाज तान्नका लागि आवश्यक पावर दिन सक्दैन र जहाज भुइँमा बजारिन पुग्छ । प्रोपेलर फेदरिङ हुनुमा प्राविधिक वा मानवीय वा दुवै पक्ष, कसको कमजोरी थियो भन्ने अझै खुलेको छैन । सो दुर्घटनाको छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँचबुझ आयोग गठन भएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री संखुवासभाको छुम्रुङमा झारेर फर्किँदा सिम्रिक एयरको हेलिकोप्टर २२ वैशाखमा संखुवासभाको भोटखोला गाउँपालिका– ४ सिप्रङमा दुर्घटनामा पर्यो । कलसाइन एन–एजेजेड हेलिकोप्टर दुर्घटनामा पर्दा एक यात्रुको निधन भयो भने पाइलटसहित चारजना घाइते भए ।
चैतमा दुईवटा सामान्य दुर्घटना
२५ चैत ०७९ मा एयर डाइनेस्टीको हेलिकोप्टर एन–एजेडी ह्याम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा ‘टेल स्ट्राइक’ भएको थियो । हेलिकोप्टरको टेल रोटर मात्र भा(ँचिएको हुँदा पाइलटलाई कुनै चोटपटक लाग्न पाएन । त्यसको भोलिपल्टै २६ चैतमा हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि बेसक्याम्पमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर अवतरण गर्ने क्रममा हावाहुरीका कारण अनियन्त्रित भएर भित्तामा पल्टिन पुगेको थियो । कार्गो बोकेको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन प्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् ।
४३ वर्षमा ४१ हेलिकोप्टर दुर्घटना, सयको मृत्यु
नेपालमा हालसम्म ४१ हेलिकोप्टर दुर्घटना भएका छन् । २० दुर्घटनामा मानवीय क्षति भएको छ भने २१ दुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भएका छन् । अहिलेसम्म हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सयजनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा लामटाङमा भएको थियो । अतिविशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । ठूलो मानवीय क्षति हुने गरी ३० सेप्टेम्बर २००२ मा एसियन एयरलाइन्सको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ११ जना र २३ सेप्टेम्बर २००६ मा श्री एयरको एमआई– १७ हेलिकोप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ