सूचनाको शक्ति - The Power Of Information

        

चन्दा नदिए मार्ने धम्की दिनेलाई ५ करोड लिन बोलाएर आफैंले पक्राए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मोबाइलमा गत १३ असारको साँझ ६ बजेर १२ मिनेटदेखि पटकपटक फोनको घण्टी बज्यो । धम्कीपूर्ण र आग्रहयुक्त एसएमएस पनि निकै नै आए ।

हरेक फोनवार्ता र एसएमएसमा उनीसँग चन्दाका नाममा करोडौं रकम मागिन्थ्यो, नदिए अपहरण गर्ने र त्यसपछि हत्या गर्ने योजना बनिसकेको सुनाइन्थ्यो । बाँच्ने मन छ भने मागेजतिको रकम दिन भनिन्थ्यो । तर्साउनका लागि तपाईंको नाम दुई नम्बरमा छ पनि भनिन्थ्यो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार, सुरुवाती चरणमा उनीसँग ३० करोड रुपैयाँ मागिएको थियो । प्रसाईंलाई प्रवेश लामाको नामबाट यस्तो धम्की आएको थियो । यद्यपि, उनी प्रवेश लामा नभई रमेशकुमार गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रसाईंलाई यसरी धम्क्याउने ४० वर्षीय गुरुङ खोटाङको रावाबेंसी गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको चुनदेवी बस्ने व्यक्ति हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङपछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईंले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

गुरुङलाई पक्राउपछि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ । अभियुक्तविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०६:४०