जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ ।
पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा. राउतसँग पटकपटक छलफल गर्दै आएका थिए ।
पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुनेबारेमा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।
यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।
जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ