सूचनाको शक्ति - The Power Of Information

        

बाघले खोर भरिएपछि …

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बाघ राख्ने खोर भरिएको छ । चितवन निकुञ्जमा रहेको पाँच वटा खोर र पर्सा निकुञ्जको कार्यालय रहेको आधाभारका खोर भरिएको हो । मानव बस्तीमा पसेर आक्रमण गर्ने, मानिस मार्ने, चौपाया मारेर मानव समुदायमा पस्न सक्ने भनी नियन्त्रणमा लिएर राख्न बनाएको खोर भरिएको हो ।

चितवनका विभिन्न बस्तीमा पसेर पशु चौपायालाई आक्रमण गर्ने बाघलाई नियन्त्रण लिएपछि यहाँ राख्न खोर अभाव भएपछि पर्सा पठाइएको छ । ‘हामीकहाँ भएको खोर भरियो, त्यसैले पर्सामा पठाएका छौँ,’ निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने । चितवनको कसरामा रहेको खोर र सौराहामा रहेको खोर भरिएपछि पर्सा पठाइएको हो ।

बर्दियामा मानिस मारेपछि त्यहाँबाट ल्याएको बाघलाई अझै खोरमा राखिएको छ । बानीमा सुधार नआएकाले तत्काल छाड्न नसकिने सूचना अधिकारी तिवारीले बताए । बुधबार नियन्त्रणमा लिएको बाघलाई आइतबार पर्साको खोरमा राखेर टोली फर्किएको छ ।

१० वर्षको बाघले पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएपछि चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । तिवारीका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १३:०८