सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा पिएसओ आतंक, बढुवामै चलखेल

नेपाल प्रहरीभित्र पिएसओको आतंक रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै खुलासा गरेका छन् । सरुवा–बढुवामा उनीहरुले अत्याधिक चलखेल गर्दै आएका छन् । हाल ३७ इन्सपेक्टर पदमा पनि पिएसओहरुकै चलखेलका कारण रोकिएको छ ।

३७ पदमा २६ जना पिएसओले बढुवाका लागि गृहमन्त्रीलाई दबाब दिएका छन् । गत शुक्रबार पत्रकारहसँगको अनौपचारिक कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो दबाबको खुलासा गरेका हुन् । तर, दबाब दिँदैमा उनीहरुलाई बढुवा नगर्ने गृहमन्त्रीको अडान छ । प्रहरीको सरुवा–बढुवामा सधैं पिएसओ बसेकाहरु हावी हुँदै आएका छन् ।

अझ धेरै सईहरु मन्त्री र न्यायधीशको पिएसओ बस्ने भएकाले त्यही आधारमा उनीहरु सिनियरलाई उछिनेर बढुवा हुने र बढुवा लगत्तै कमाण्डमा जाने गरेका छन् । उनीहरुका कारण संगठनका लागि ज्यान दिने जुनियर अधिकृतमाथि अन्याय हुँदै आएको छ । यसपटकको बढुवा गृहमन्त्री र आइजिपीको लागि परीक्षाको विषय छ ।

उता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत शुक्रबार पत्रकार सम्मेलनमा राजनीतिक नेतृत्वको सहयोग रहेकाले प्रहरी रुपान्तरणका लागि उपयुक्त समय भएको बताए पनि राजनीतिक हस्तक्षेपकै कारण नियमित सरुवा अघि बढ्न सकेको छैन ।

एसपी, डिएसपी र इन्सपेक्टरको नियमित सरुवा अत्याधिक चलखेलकै कारण रोकिएको छ । यही महिनाभित्र सरुवा निकाल्ने प्रहरी नेतृत्वको तयारी छ । तल्लो तहको पनि नियमित सरुवा हुन सकेको छैन । सरुवाका लागि १८ हजार धेरै निवेदन आएको प्रहरी प्रधान कार्यालयले नै सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १०:४६