सूचनाको शक्ति - The Power Of Information

        

सुनिताका कारण एमालेभित्र मच्चियो हंगामा

नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनौठो व्यवहार देखाउन थालेका छन् । आफ्ना आलोचकलाई पार्टीमा टिक्नै नदिने नीति लिएका उनले पार्टीका पुराना नेताहरुलाई पनि बेवास्था गर्न थालेका छन् । पार्टीमा आफुलाई ‘बा’ भनेर चाकडीमा रमाउने समूहलाई लिएर उनी अघि बढेका छन् ।

यसले एमालेभित्र अर्काे विद्रोह जन्माउने सम्भावना देखिएको छ । अध्यक्ष ओली उच्चस्तरको छलफलमा नेतृ सुनिता बराललाई लिएर जान थालेको विषय अहिले एमालेमा चर्चामा छ । संसद अवरुद्धको विषयलाई लिएर उनी आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न गएका थिए ।

दुवै बैठकमा उनीसँग एमाले सांसद सुनिता बराल सहभागी थिइन् । पार्टीका वरिष्ठ तथा प्रमुख सचेतक र सचेतकलाई बेवास्था गरेर सुनितालाई लिएर गएको विषयले एमालेभित्र हंगामा मच्चिएको छ । सांसद बरालले ओलीको आशीर्वादका कारण पटक–पटक अवसर पाउँदै आएकी छिन् । चाकडीकै आधारमा उनी अनेरास्ववियुको अध्यक्षमा मनोनित भइन् ।

अध्यक्ष हुँदाहुँदै समानुपातिकतर्फबाट सांसद बनिन् । जबकि पार्टीमा दशकौंदेखि योगदान गरेका महिला नेतृहरुलाई पार्टीले अपमान गरेको थियो । अहिले वरिष्ठ नेतालाई पाखा लगाएर उनै सुनितालाई लिएर अध्यक्ष ओली शीर्ष बैठकमा जान थालेपछि एमालेका नेताहरू अचम्ममा पर्न थालेका छन् ।

पार्टीका पछिल्लो धेरै विषयमा ओलीले आफ्ना भक्तहरुलाई मात्र प्राथमिकता दिन थालेको एमाले नेताहरू बताउँछन् । केही महिनाअघिको कार्यविभाजनमा पनि उनले शीर्ष नेताहरूसँग समेत छलफल गरेका थिएनन् । त्यो विषयमा पनि पार्टीका पदाधिकारी नै रुष्ट छन् ।

इसाई धर्मको धन्दामा लागेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउँदा पनि कोही नेता बोल्न सकेका थिएनन् । ओलीका एकपछि अर्काे विवादास्पद निर्णयले एमालेमा धेरै नेता उनीसँग चिढिदै गएका छन् । तर, आफ्नो निर्णयको आलोचना गर्नेलाई पार्टीमा टिक्नै नदिने भएकाले पार्टीभित्र उनको मनोमानीबारे कसैले बोल्ने हिम्मत गरेको छैन ।

केही नेताको स्वार्थमा ७० वर्षे उमेहरदको प्रावधान हटाउँदा समेत एमालेका कोही युवा नेताले त्यसविरुद्ध आवाज उठाउने आँट गरेनन् । ‘ओलीको यही कार्यशैलीका कारण हिजो पार्टी विभाजन भएको थियो,’ एक नेता भन्छन्,‘यस्तै पारा चलिरहेने हो भने अर्काे चुनावसम्म फेरि विद्रोह नहोला भन्न सकिन्न ।’

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १०:३८