मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता विपद्का घटना सुरु भएका भएका छन् । विपद जहाँ जुनसुकै बेला आउन सक्ने भएकाले यसबाट बच्न पूर्वसावधानी तथा पूर्वतयारी गर्नुपर्ने सरोकारवाला निकायहरू बताउँछन् ।
बाढी तथा पहिरोको जोखिमविरुद्ध योजना बनाउने र तयारी गर्ने काम तनावपूर्ण हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक प्रकोपसँग जुध्न वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्न सकिने बताएको छ । मन्त्रालयले आपतकालीन अवस्थाका लागि ‘झटपट झोला’ तयार गरेर राख्न सुझाव दिँदै आएको छ ।
‘झटपट झोला’मा टर्च, सिट्ठी, पानी, खानेकुरा, औषधि, लुगा, महत्वपूर्ण कागजातका साथै मास्क, साबुन, स्यानिटाइजर राख्नुपर्ने मन्त्रालयले बताएको छ । यो झोलाले विपद्का बेला ज्यान जोगाउन सहयोग गर्ने भएकाले यसको व्यवस्था गर्न पनि मन्त्रालयको आग्रह गर्दै आएको छ ।
प्राकृतिक प्रकोपका कारण हुने तनाव र चिन्ताको सामना गर्न आवश्यक मद्दत माग्न हिचकिचाउन नहुने मन्त्रालयले जनाएको छ । विपद्को विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयले घाइते तथा प्रभावितहरूको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउनु पर्नेमा जोड दिएको छ ।
मन्त्रालयबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीहरूको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरू, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरूले समन्वयको व्यवस्था पनि मन्त्रालयले गर्दै आएको छ ।
पानी परेर कमजोर भएको पहाड र नदी किनारमा रहेका बस्तीका बासिन्दाले सचेत हुनुपर्ने मौसमविद्हरूले बताउँदै आएका छन् । सकेसम्म पहिरो जानसक्ने भू–भाग र नदी किनारका बासिन्दाले सुरक्षित ठाउँमा स्थानान्तरण हुँदा राम्रो हुने मौसमविद्हरूको भनाइ छ ।
नदीको बहाव उच्च भए खतराको तह पार गरेको साइरन बज्ने भएकाले यसबारे जानकारी लिएर सचेत हुन पनि उनले नदी किनारमा रहेका बस्तीका बासिन्दालाई जल तथा मौसम विज्ञान विभागले आग्रह गर्दै आएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं