सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डकाे स्पष्टीकरण : ‘भवनामा आएर भनेँ, नबाेलेकाे भए ठिक हुन्थ्याे’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिबारे साेमवार प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भावनामा आएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीका रूपमा नभनेको भए ठिक हुने बताउनुभयो । उहाँले आफ्नो भनाइबाट परेको असहजताप्रति क्षमा माग्दै आफ्नो मनसाय खराब नभएको बताउनुभयो ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यस क्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको भन्दै प्रचण्डले त्यही सन्दर्भमा भएको कुरा भावनामा आएर भनेको बताउनुभयो ।

‘कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु’, उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर त्यस दिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।’

प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवराेध गर्दै आएकोमा आज प्रधानमन्त्रीले माफी माग्ने सहमतिपछि खुलेको हो । प्रतिनिधि सभाको अर्को बैठक आउँदो शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १८:५०