लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कोहलपुर नगरपालिकालाई हरित शहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति अन्तरगत बाँकेको कोहलपुरस्थित कोहलपुर नेपालगञ्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म सोमवार आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहर भन्दा पनि कोहलपुरलाई हरियाली शहरको रुपमा चिनाउनुपर्ने बताए ।
“अहिले सिमेन्ट र सरियाले शहरको हरियाली उजाडिएको छ,“ उनले भने, “कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्ण साथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना शहर बन्नुपर्छ ।“ उनले त्यसका लागि नगरबासीको पनि सहयोग हुन जरुरी रहेको औंल्याए । “बोटबिरुवा रोप्नु मात्र ठूलो कुरा होइन, संरक्षण महत्वपूर्ण कुरा हो,“ उनले भने, “संरक्षणमा स्थानीयबासीले सहयोग गर्नुप¥यो ।“
उनले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षारोपण गर्न पनि सुझाव दिए । “नगरलाई हरित नगर बनाउनुको विकल्प छैन,“ उनले भने, “तर, बोटबिरुवा रोप्दा जनताले रुचाएका बिरुवा रोप्नुपर्छ । यसले बिरुवा संरक्षणमा स्थानियको चासो बढ्छ ।“ उनले घरमा फलफूलका बिरुवा रोप्न सुझाव दिंदै यसले पोषणमा पनि सुधार ल्याउने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेश सदस्य सन्जुकुमारी चौधरीले कोहलपुरलाई हरित नगर बनाउने सवाल प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारले जोड दिनुपर्ने बताइन् । अर्का प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले कोहलपुर नगरपालिकामा थालिएको हरित नगर अभियानले कोहलपुरलाई नमूना सहर बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । आचार्यले बिगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भएपनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याव परिक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिंदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न नगरबासीलाई आह्वान समेत गरे ।
कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिका वोर्ड सदस्य भेषराज आचार्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीका प्रमुख हरिबंश आचार्य लगायतले बोलेका थिए ।
उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको ३ लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए ।
सत्यपाटी संवाददाता । बाँके