हावा चल्न थाल्यो
हावाको आवाज पनि किन यस्तो कर्कस
किन यति धेरै वाचाल छ,यो हावा ?
के भनिरहेछ यसले
झ्यालको चेपाबाट छिरेर
मेरो मुटुमा किन घोच्दैछ च्वास्स ?
बजारभरि किन घन्कदैछन
चर्का आवाजहरु
गाउँगाउँबाट किन निस्कदै छ
कमिलाको ताँतीझैँ
मानिसहरुको लस्कर
गोहीले सास फेरेझैँ
किन सुसाउँदै छ नदी
कता कता सुनिँदैछ, मधुरोसँग
ताता गीतहरुको तिखो ध्वनि
उत्तरी स्वेतशृंखलाको हिउँ पनि
किन रातो देखिन थाल्यो
चुपचाप आदेशहरु पालन गर्ने
तमाम ज्यामीका ज्यावलहरु नै
किन तात्न थाले यति सारै ?
भूकम्प आएको हो कि
पराकम्पनले हो
कुर्सीका खुट्टाहरु
किन डग्मगाउन थाले
मेरो दरवारको जगमा
इँटा र ढुङ्गा छन् कि बम
कहाँबाट आयो बिस्फोटको आवाज
र किन काम्न थाल्यो जमीन ?
मेरा आँखामा आँखा मिलाउन नसक्ने
मुस्कान हराएका मानिसहरुको ओठमा
किन दगुर्न थाल्यो आक्रोस
लौरी टेक्ने वद्धवृद्धाहरु पनि
किन निस्किए सडकमा ?
किन भत्कन थाले मन्दिरका
नाङ्गा टुँडाल र मुर्तीका जगहरु
कता भागे देवलभित्र बस्ने भागवानहरु
देवता पनि दाहिना हुन
छाड्नुको मतलव
कि भ्रमको जालो च्यातियो ?
अथवा के अब समय
दरवारको गद्दीबाट उछिट्टिएकै हो ?
रेशम विरही । बरिष्ठ पत्रकार तथा साहित्यकार