सूचनाको शक्ति - The Power Of Information

        

ललिता निवास प्रकरण : सञ्चार मन्त्रायलयका सचिव विमानस्थलबाटै पक्राउ

आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मालाई सचिव कृष्णबहादुर राउतले बिन्ती बिसाए–हजुर बुवा बिरामी हुनुहुन्छ दुई दिन बिदा चाहियो । बुबा बिरामी भएको बताएपछि मन्त्रीले नाइनास्ती गरिनन् । तत्काल सचिव राउतले भनेअनुसार बिदा स्वीकृति भयो ।

बिदा स्वीकृत भएसँगै मन्त्रालयकै सहसचिवलाई कार्यबाहक सचिवको जिम्मेवारी दिइयो भने राउतचाहिँ घर जान भनेर एयरपोर्टतिर लागे । मन्त्रालयका एक अधिकारीका अनुसार सचिव राउत आइतबार दिउँसोसम्म भने मन्त्रालयमै थिए । सो क्रममा उनी विभिन्न बैठकमा पनि सहभागी भएका थिए ।

दिउँसो भने बुबा बिरामी भएको भनेर उनले दुई दिनको बिदा मागेपछि स्वीकृत भएको सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए । बिदा लिएसँगै उदरपुरमा रहेको आफ्नो घर जान भन्दै उनी विराटनगरसम्मको विमानका लागि त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा पुग्ने बित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई मन्त्रालयदेखि नै सीआईबीको टोलीले फलो गरेको बताइएको छ । उनले पक्राउ पर्ने डरले बिदा लिएका थिए या साँच्चिकै बुबा बिरामी भएका थिए भन्ने बारे चाहिँ खुलेको छैन । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले सो टिप्पणी सदर गरी मन्त्री विजय गच्छदारकहाँ पेश गरेका हुन् ।

सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए । निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ ।

सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । पूर्व सचिव मलेगो विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०६:१७