सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस जिल्ला सभापतिहरुले गरेको १४ बुँदे प्रतिबद्धतामा के छ ?

 नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले भदौ महिनाभित्र सम्मेलन सक्ने प्रतिबद्धता गरेका छन् ।

गत बिहीबार र शुक्रबार केन्द्रीय कार्यालयमा भएको छलफलपछि जिल्ला तहका सबै संरचनाको सम्मेलन भदौ महिनाभित्र सक्ने सभापतिहरुले प्रतिबद्धता गरेका हुन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको बैठकको समापन पछि जिल्ला सभापतिहरुले १४ बुँदे प्रतिबद्धता गरेका थिए । उक्त प्रतिबद्धतालाई सार्वजनिक गरिएको छैन । छलफलमा सहभागी एक जिल्ला सभापतिले पार्टी भित्रको आन्तरिक विषय भएकाले सार्वजनिक नगरिएको बताए ।

प्रतिबद्धताको पहिलो र अन्तिम बुँदा समान खालको छ । पार्टीलाई सुदृढीकरण र गतिशील बनाउन आआफ्नो संरचनामा थप क्रियाशील हुने उल्लेख छ । छलफलमा सहभागी एक जिल्ला सभापतिका अनुसार भदौ महिना भरिमा सम्मेलन सक्ने प्रतिबद्धता गरिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले तल्लो तहका संरचनालाई विधान अनुसार कार्य गर्न दुईपटक मातहतका समितिलाई पत्राचार गरेका थिए । गत चैतमा गरिएको परिपत्रमा विधानको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको थियो ।

वैशाख अर्को परिपत्र गर्दै सम्मेलन अनिवार्य भएकाले सबै तहले गर्न निर्देशन दिइएको थियो । हालसम्म डेढ दर्जन जिल्लाले सम्मेलन सकेका छन् । कतिपय जिल्लाले वडा, पालिका, प्रदेश÷संघीय निर्वाचन क्षेत्र लगायतका संरचनाको सम्मेलन गरिरहेका छन् । महाधिवेशन हुने वर्ष बाहेकका हरेक वर्षमा सबै तहले सम्मेलन गर्नुपर्ने विधानको व्यवस्था छ ।

जिल्ला सम्मेलनको क्रममा कांग्रेस सरकारले तीन तहमा गरेका राम्रा कार्यको प्रचार गर्ने प्रतिबद्धता पनि सभापतिहरुले गरेका छन् ।

‘राम्रा कामको प्रचार गर्ने र नराम्रा कामको टिपोट सम्बन्धित सबै समितिले गर्नुपर्ने प्रतिबद्धता गरेका छौं,’ एक सभापतिले भने ।

भ्रातृ संस्थालाई अनुशासित र व्यवस्थित परिचालनको प्रतिबद्धता जिल्ला सभापतिले गरेका छन् । भ्रातृ संस्थाको तल्लो तहमा संगठित कुनै कार्यकर्ताले अनुशासनहीन काम गरेमा सम्बन्धित संरचनाले तुरुन्त कारबाही गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

कुनै एउटा कार्यकर्ताले अनुशासनहीन काम गर्दा देशभरका कार्यकर्ता तथा नेताहरुले गाली खानुपर्ने र पार्टीलाई क्षति पु¥याउने भएकाले तत्काल कारबाहीले पार्टी शुद्धीकरण हुने विश्वास लिइएको छ ।

कांग्रेस सरकारमा हुँदा गरेका सुधारका कार्यलाई प्रचार गर्ने प्रतिबद्धता गरिएको छ ।

आआफ्नो पार्टी संरचनाभित्र रहेको स्थानीय समस्यालाई लिपिवद्ध गरिने भएको छ । पार्टीमा आबद्ध नेता कार्यकर्तालाई कुनै न कुनै भूमिका दिएर पार्टीमा खटाउने सभापतिहरुले प्रतिबद्धता गरेका छन् ।

जिल्ला सभापतिहरुले प्रतिबद्धता गरे अनुरुप पार्टी केन्द्र पनि विधान अनुसार चल्ने महामन्त्रीद्वयले प्रतिबद्धता गरेका छन् ।

विभाग गठन, नीति महाधिवेशन, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता लगायतमा केन्द्रले यथाशक्य छिटो निर्णय लिने महामन्त्रीद्वयको प्रतिबद्धता थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार १९:४३