सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा साढे ३० करोडमा निर्मित अत्याधुनिक बसपार्क उद्घाटन

बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज एक कार्यक्रमका बीच लामो दुरीको नवनिर्मित बसपार्क उद्घाटन गरेका हुन् ।

बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुर पश्चिम नेपालको गेटवे भएको बताउँदै कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि लुम्बिनी प्रदेश सरकारको साथ र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रबद्र्धन गर्ने प्रदेश सरकारको योजना रहेको सुनाउँदै मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, समझदारी र सहकार्य जरुरी रहेको उल्लेख गरे । कोहलपुरमा यो क्षेत्रकै अत्याधुकि बसपार्क बनेको भन्दै उनले खुसी ब्यक्त गरे ।

No description available.

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले नगरको विकास र समृद्धिका लागि  समन्वय र सहकार्य गरिरहेको बताए । कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सुविधा सम्पन्न लामो दुरीको बसपार्कको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 लुम्बिनी प्रदेशकासभा सदस्य कृष्णा केसी नमुना, सञ्जुकुमारी चौधरी, दुर्गा चौधरी, बसन्ती अधिकारी लगायतले कोहलपुरकै विकास र समृद्धिका लागि पहलकदमी लिइरहेको बताउँदै जिल्लाको विकास र समृद्धिका लागि सबै एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अत्याधुनिक सपिंग कम्प्लेक्ससहितको बसपार्क साढे ३० करोड लागतमा निर्माण सम्पन्न भएको हो । नगर विकास कोषसंगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो ।

नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको कोहलपुर नगरपालिकाले जनाएको छ । बार्षिक ८ प्रतिशत व्याज रकम तिर्ने गरी २० बर्षका लागि नगर विकास कोषसंग सम्झौता भएको छ ।

२०७७ असोज २३ गते तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससंग सम्झौता गरेका हुन् । २०७७ फागुन २४ गतेबाट बसपार्क निर्माण कार्य सुरु गरिएको थियो । २०७९ फागुन २५ गते निर्माण सम्पन्न भएको थियो ।

बसपार्क निर्माण सम्पन्न भएसंगै कोहलपुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि ठेक्का सम्झौता गर्नुका साथै बसपार्कभित्र रहेका सटरहरु समेत भाडामा दिइसकेको छ । बसपार्क साउनदेखि सञ्चालनमा आउनेछ ।

बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालिले पाएको छ । प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्नेछ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार १९:०६