सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य मन्त्रालय

विषालु च्याउ खाँदा ज्यानै जाने जोखिम, जङ्गली च्याउ नखान आग्रह

दैलेखमा एकै घरका चार जना बालबालिका बिरामी

विषालु च्याउ छुट्याउन नसक्दा च्याउ खाएर बिरामी पर्ने र ज्यानै जाने जोखिम यस वर्ष पनि दोहोरिएको छ । हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।

दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा.सुशीला कटुवालले जानकारी दिनुभएको छ ।

त्यस्तै, विषालु च्याउ खाएर बिरामी परेकी ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको उपचारका क्रममा असार १५ गते ज्यान गएको थियो ।

बर्खामा खेतबारी र जङ्गलमा जताततै च्याउ उम्रिने गरेको तर खान योग्य कुन च्याउ हो भनेर सहजै छुट्याउन गाह्रो हुने भएकाले जङ्गली च्याउ नखान विज्ञहरुको आग्रह छ ।

यो बेला जताततै उम्रिने जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध छ ।

नेपालमा यकिन विवरण नभए पनि वर्षमा झण्डै ३० जनाले विषालु च्याउ खाएका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क छ । केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउने विज्ञले बताएका छन् ।

सबै जङ्गली च्याउ विषालु नहुने तर पहिचान गर्न गाह्रो हुने भएकाले नखान च्याउ वैज्ञानिक प्रेमबहादुर मगरको सुझाव छ । विषालु च्याउले वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने हुन्छ ।

हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाइ छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुने विज्ञको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार ०९:२५