सूचनाको शक्ति - The Power Of Information

        

छात्रवृत्तिले विद्यार्थीको उत्साह थप्दै, टर्‍यो भर्नाको पीरलो

हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको हुँदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका थिए ।

परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधारमा उनी हुन्थे । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाले रु ३० हजार बराबरको मेयर छात्रवृत्ति कोषबाट रकम सहयोग गरेपछि भर्ना गर्ने पीरलो टरेको छ ।

‘परिवारमा कमाउने कोही छैन, इन्जिनियरिङ पढ्ने इच्छा धेरै भएर सुरु गरिहाले, भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन नसक्दा बीचमै पढाइ छाड्ने कि भन्ने मनमा कुरा खेलिरहेको बेला नगरपालिकाले एकै पटक रु ३० हजार बराबरको छात्रवृत्ति दिएपछि भर्ना हुने पीरलो हटेको छ,’ उनले भने ।

परिवारको आर्थिक अवस्था कमजोर रहे पनि इन्जिनियरिङ पढ्ने तीव्र इच्छाले चार दिनको समय लगाएर पाल्पाको रामपुरमा पढ्न आएको उनी बताउँछन् । एकतर्फीमात्र गाडीभाडा रु दश हजार लाग्दछ । जीवनमा इन्जिनियरिङ विषय पढेर केही गर्ने सपना बुनेका खत्रीको नगरपालिकाले पढाइमा सहयोग गरेपछि हौसला थपिएको छ ।

उनलाई तेस्रो सेमेष्टरमा भर्ना हुन रु ३० हजार रकम लाग्छ । सो रकम नगरपालिकाको पूरा सहयोगमा पढ्न पाउँदा आफू बाहिरी जिल्लाको विद्यार्थी हुँ भन्ने अनुभूति नभएको उनी बताउँछन् । ‘आफू जन्मेको गाउँपालिकाले शिक्षामा केही सहयोग गरेको छैन, हामीजस्ता गरिब, विपन्न परिवारका विद्यार्थीले आफ्नो पालिकाबाट केही सेवासुविधा पाइएको छैन,’ उनले भने ।

उनका अनुसार घरदेखि चार दिन टाढाको दूरीमा बसेर अध्ययन गर्न आउने हामीलाई यहाँको स्थानीय सरकारले पढाइमा ठूलो मद्दत पुर्याएको छ । दुःखसँग ऋण गरेर जसोतसो भर्ना भएर पढ्न थालेको उनले बताए । घरमा बुबा पाँच वर्षदेखि प्यारालाइसियसको बिरामी भएर थला परेका छन् भने भाई, आमाको लालनपालन, घरको जिम्मेवारी काँधमा रहँदा त्यसमाथि आर्थिक अभावमा पढाइमा धेरै दुःखसँग उनले सङ्घर्ष गरिरहेका छन् ।

इन्जिनियरिङका लागि एक वर्ष पढेर पढाइ पूरा नहुँदा भर्ना शुल्क, पढाइका लागि शैक्षिक सामग्री लगायतमा रकम जुटाउन विपन्न परिवारका विद्यार्थीलाई निकै समस्या छ । नगरपालिकाले बाहिरका विद्यार्थीलाई स्थानीय सरह नै शैक्षिक क्षेत्रमा लगानी गरेपछि बाहिरबाट यहाँ पढ्न आउने विद्यार्थीमा आत्मबल बढेको छ ।

रामपुर–१ कुमैडाँडा बस्ने बालकुमारी सुनारले यस वर्ष रु २१ हजार रकम छात्रवृत्ति स्वरुप बुझेकी छन् । रामतुलसी नमूना माविमा कृषि बाली विज्ञान अन्तर्गत दोस्रो सेमेष्टरमा अध्ययनरत उनी सो रकमले पढाइमा धेरै राहत पुगेको बताउँछन् । छात्रवृत्तिबापत पाएको रकम भर्ना तथा शैक्षिक सामग्रीमा खर्च गर्ने उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १७:१९