सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन विमानस्थलको चेकजाँचमा कर्मचारीको लापरवाही, अब प्रहरी पनि परिचालन

त्रिभुवन विमानस्थलमा अध्यामगन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहनेगरी गृहमन्त्रालयले तयारी थालेको छ । प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृह मन्त्रालयले अर्थ मन्त्रालय र निजामति कर्मचारीको नियन्त्रण र कार्यक्षेत्र रहेको अध्यागमन विभाग र भन्सार विभागसँग प्रहरीसहितको सुरक्षा जाँचपासबारे तयारी थालेको हो ।

‘विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा लापारवाही देखिएको छ त्यसकारण पनि यी दुवै स्थानमा प्रहरीको उपस्थितिबारे मन्त्रालयले बहस थालेको छ, भन्सार चेकजाँचमा पनि प्रहरीको उपस्थिति रहने गरी अर्थमन्त्रालयसँग कुराकानी गरिएको छ,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने ।

उनका अनुसार भन्सारबाट हुने कमजोरी र भन्सारकै कर्मचारी संलग्न भएर अपराधी छुट्ने अवस्थालाई रोक्न पनि प्रहरीको आवश्यकता महशुस गरिएको हो । खासगरी ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन विमानस्थलभित्रैबाट चोरी घटनाभएपछि मन्त्रालयले भन्सार कार्यालयको चेकजाँचमा प्रश्न उठाएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सो बारे अनुसन्धान गरिरहेको छ । सो सुन चोरी गर्ने मूख्य योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलिसकेको छ । विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् । ‘भन्सारका कर्मचारीले सुन बरामद गरेपछि मानिसलाई त्यतिकै छाडेको देखिन्छ तर त्यहाँ प्रहरी भएको भए त्यो मानिसलाई पक्राउ गरी अनुसन्धान हुन्थ्यो,’ मन्त्रालयका एक कर्मचारीले भने ।

उनका अनुसार यो विषय निकै गम्भीर भएकाले अर्थमन्त्रालयसँग भन्सार चेकजाँचपास बारे प्रश्न गरिएको छ । ‘मन्त्रीज्यूले पनि यो विषयमा कुराकानी गरेर प्रहरीलाई पनि चेकजाँजपासमा राख्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग कुरा गरिसक्नु भएको छ,’ गृहमन्त्रालयका एक कर्मचारीले भने । यो घटना गत पुस १० मा भएको थियो ।

सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले यो विषयमा अनुसन्धान भैरहेको धेरै कुरा बताउन नमिल्ने बताएकी छिन् । ‘यो विषयमा अनुसन्धान नै सकिएको छैन धेरै कुरा खुल्न बाँकी छ संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्तविरुद्ध अनुसन्धान अघि बढाएका छौ’, एआइजी बज्राचार्यले भनिन् ।

सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ ।

त्यतिबेला के भएको थियो ?

गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो ।

भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो । त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडिएपछि लामो समय सो सुटकेश भन्सारमै रह्यो । तस्करहरुले विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना रहेको थियो ।

स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यतिवेलासम्म ई–सिगरेटलाई अर्को स्थानमा पुर्याएर नयाँ कुनै इसिगरेट राखिएको थियो । सुटकेसको हेरचाह गर्ने जिम्मेवारी नासु खड्कालाई थियो । भन्सार एजेण्ट बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएका थिए र सुन बाहिर लगिएको थियो । जसबापत खड्काले ६५ लाख रुपैयाँ लिएका थिए ।

स्रोतका अनुसार उनले करिब नौ करोड पर्ने सुन करिब ६ करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । यति ठूलो घट्नामा भन्सारकै कर्मचारी र भन्सार एजेण्ट संलग्न हुनुले प्रहरी अनुसन्धानको क्रममा विमानस्थलभित्र रहेको भन्सार चेकजाँचपासमा पनि प्रहरी राख्नुपर्ने आवश्यकता महशुस भएको गृहमन्त्रालयका कर्मचारीहरुले दावी गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १६:५५