सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक

कञ्चनपुरको लालझाडी गाउँपालिका-२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हालेकी छिन् ।

विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन् । ‘बालविकास शिक्षकमा नियुक्त भई २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेकी छु,’ रानाले भनिन्, ‘विद्यार्थी, प्रशासन र अभिभावकबीचको सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ ।’

उनले नेतृत्व गरिरहेको विद्यालयमा हाल १८८ विद्यार्थी र १२ शिक्षक तथा कर्मचारी छन् । ‘विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पुर्याउन सकिएको छ,’ उनले भनिन्, ‘तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो अवस्था छ ।’

भौगोलिक रुपमा जिल्लाकै विकट क्षेत्रमा पर्ने लालझाडीमा राना थारु समुदायको बाहुल्यता छ । त्यसैले विद्यालयमा पनि राना थारु समुदायकै बालबालिकाको सङ्ख्या बढी छ । रानाले भनिन्, ‘महिलाले अधिकार मागेर होइन, मेहनतले उच्च तहमा पुग्ने वातावरण हरेक कोणबाट बन्दै गएको छ ।’ थारु जस्तै जिम्मेवारीमा छिन्, सुरिता चौधरी ।

शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा रहेको जनज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक चौधरीले दश वर्षदेखि उक्त जिम्मेवारी सम्हालेकी छिन् । चौधरीका श्रीमान् विक्रम चौधरी पनि सोही विद्यालयमा शिक्षक हुन् । ‘शिक्षक हुँदा सम्बन्धित विषय पढाउने र विद्यार्थीको भविष्यप्रति बढी केन्द्रित भइन्थ्यो भने प्रधानाध्यापकका रुपमा विद्यालयको सबै जिम्मेवारी लिएकी छु,’ उनले भनिन् ।

विगत २२ वर्षदेखि शिक्षण पेसामा रहेकी चौधरी सुरुमा निजी शिक्षक, अस्थायी हुँदै २०७५ सालमा स्थायी भएकी थिइन् । ‘हामी दुवै जना शिक्षण पेसामा दुई दशकभन्दा बढी समय संलग्न भएकाले समाजमा पनि राम्रो प्रतिष्ठा कमाएका छौँ,’ उनले भनिन्, ‘बढ्दो आधुनिकीकरण र प्रविधिको उच्च विकास भइरहेको समयमा ग्रामीण क्षेत्रमा विद्यालय सम्हाल्नु चुनौतीपूर्ण छ ।’

ग्रामीणस्तरमा प्राथमिक तहदेखि नै समयसापेक्ष शिक्षा दिने विषयमा स्थानीय तहदेखि केन्द्र सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । २५९ वटा सामुदायिक विद्यालय रहेको कञ्चनपुरमा हाल २० विद्यालयमा महिला प्रधानाध्यापक रहेका शिक्षा तथा समन्वय इकाई, विद्यालय प्रशासनका शाखा अधिकृत रुपराम तिरुवाले जानकारी दिए ।

शुक्लाफाँटा नगरपालिकाको झलारीमा २०२२ सालमा स्थापना भएको श्रीकृष्ण माविको नेतृत्व पनि महिला प्रधानाध्यापकको काँधमा छ । विद्यालयमा चार वर्षयता लक्ष्मी थापा ऐर प्रधानाध्यापक छिन् । ‘शिक्षकका रुपमा एक प्रकारको सन्तुष्टि थियो भने अहिले प्रधानाध्यापकका रुपमा विद्यालयको नीति निर्माणदेखिका सबै काम गर्दा थप जिम्मेवारी महसुस भएको छ,’ उनले भनिन् ।

निजी र सामुदायिक विद्यालयमा गरी १७ वर्ष अध्यापन गराएकी उनी १२ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहेकी छिन् । ‘करिब दुई दशकको अनुभवले प्रधानाध्यापकका रुपमा काम गर्न सहज भएको छ,’ उनले भनिन्, ‘अहिले विद्यालयको भौतिक संरचना निर्माण, अभिभावकसँग समन्वय, अतिरिक्त क्रियाकलाप, अध्यापन र विद्यालयको विकासमा सक्रिय हुन पनि सजिलो भएको छ ।’

महेन्द्रनगरमा सञ्चालित जानकी कन्या माविमा पनि नौ वर्षदेखि अञ्जुला भट्ट प्रधानाध्यापक छिन् । करिब २०० विद्यार्थी रहेको विपद्यालयमा २० जना शिक्षक कार्यरत छिन् । ‘वि.सं. २०६३ बाट स्थायी भई दैजीको शारदा माविबाट अध्यापन सुरु गरेकि हुँ,’ भट्टले भनिन्, ‘यतिबेला जानकी कन्या मावि सञ्चालन गर्ने अवसर प्राप्त भएको छ ।’

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १६:२४