सूचनाको शक्ति - The Power Of Information

        

कालीकोटमा एउटै गाउँका ३११ जना बिरामी

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण ३११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि हिजो शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिने लगायत लक्षण देखिएको छ ।

गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र नौ जना बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताए । अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए ।

‘शुक्रबार १९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ,’ उनले भने, ‘उपचार गर्न आउने २०६ जना १५ वर्षमूनिका छन् ।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १३:५७