सूचनाको शक्ति - The Power Of Information

        

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेबल पुल

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन । कुल रु १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो ।

अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिइन् । ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ ।

आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भने पनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको काम रोकिएको हो । निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताइन् ।

‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो,’ देवकोटाले भनिन्, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’ पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले रु ३१ करोड ६३ लाख ९७ हजार ७०० अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको उनले बताइन् । उक्त पुल १५१ मिटर लम्बाइको हुने उनको भनाइ छ ।

पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आउनुपरेको छ ।

स्रोत : राष्ट्रिय समाचार समिति
प्रकाशित मिति : २३ असार २०८०, शनिबार ११:३२