सूचनाको शक्ति - The Power Of Information

        

खाने सिडियो, एसपी, पत्रकार : अनि रोकिएछ समाचार

राप्ती नदीबाट त्यस क्षेत्रका जनतालाई सिचाई सुविधा दिने उद्देश्यले निर्मित प्रगन्ना नहर सफा गर्दा निस्किएको बालुवा बिक्रीको आम्दानी दाङका सिडियो, एसपीदेखि पत्रकारसम्मलाई भाग लागेको छ । हुन त राप्ती नदी र त्यहाँका अवैध क्रसर उद्योग दाङ्गका प्रशासक, जनप्रतिनिधिदेखि दल हुँदै पत्रकारसम्मका लागि कमाई खाने राम्रो श्रोत बन्दै आएकै छ ।

अझ रकम बाँडेकै ठेकेदारका एकाउण्टेन्टसँग भएको लेजरमै लेखिएको हिसाब सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले राप्ती क्षेत्रमा तरंग ल्याएको छ । राप्ती गाउँपालिकाभित्र पर्ने प्रगन्ना सिचाई नहर सफा गर्ने र त्यस क्रममा निस्केको बालुवा विक्री गर्ने गरी चार जनालाई ३० लाखमा ठेक्का दिइएको थियो ।

तर गाउँपालिकाले तोकेअनुसारको बालुवा बेचेर मात्र फाइदा नहुने देखेपछि ठेकेदारहरुले नेपाल प्रहरीका एसपी वीरबहादुर ओली र उनीमार्फत प्रमुख जिल्ला अधिकारी सुशील वैद्य तथा स्थानीय प्रभावशाली व्यक्तिहरु, पत्रकार मिलाएर नदी दोहन गरेका थिए । जसअनुसार बालुवा बेचेर आएको पैसा बाँडिएको थियो ।

ठेकेदारमध्येका एक प्रकाश शाहीले अन्य तीन जना ठेकेदारले हिसाब पारदर्शी नदेखाएपछि उक्त खर्च लेजर नै सामाजिक सञ्जालमा राखेर घुस दिएको स्वीकार्दै कारवाहीको माग गरेका छन् । सामाजिक सन्जालमा राखिएको खर्च लेजरमा देखाइएअनुसार सिडिओलाई १ लाख, सशस्त्र एसपीलाई १ लाख, नेपाल प्रहरीका एसपीलाई सिधै ३ लाख र भालुवाङ इप्रकामार्फत १ लाख २५ हजार दिएको देखाइएको छ ।

यसैगरी अनुसन्धानलाई ३५ हजार, लमही इन्सपेक्टरलाई ४० हजार, गढवा घुमुवालाई २० हजार देखाइएको छ । जनप्रतिनिधिलाई समेत रकम दिएको हिसाबमा लेखिएको छ । अवैध बालुवा बिक्रीको कमिशन लिनेमा पत्रकारसमेत अग्रपंक्तिमा छन् । प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष गुप्ताले २५ हजार,पत्रकार घनश्यामले १० हजार भाग पाएका छन् ।

विप्लवनिकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षसमेत रहेका ठेकेदार प्रकाश शाहीलाई उनकै ठेकेदार पार्टनर ज्ञानु केसी, बसन्त कुँवर र पवन जिसीले एक्साभेटर प्रयोग बापतको १६ लाख ९२ हजार खर्च देखाएर नाफा केही नभएको, उल्टै ठेक्कामा घाटा भएको खर्च देखाएपछि उनले आक्रोशित भई खर्च विवरण सार्वजनिक गरेको श्रोतले जनाएको छ ।

कमिशन बाडफाँडबारे सुरक्षा निकायका उच्च प्रशासक, जनप्रतिनिधि, राजनीतिक दल र पत्रकारहरुले कुनै प्रतिक्रिया वा खण्डन गरेका छैनन् । खर्च विवरण सार्वजनिक गरेका प्रकाश शाहीले उक्त विवरण साँचो भएको र आफूले नै भ्रष्टाचारीहरुलाई सार्वजनिक गरेको दाबी गरेका छन् ।

स्रोत : जनआस्था
प्रकाशित मिति : २३ असार २०८०, शनिबार ०७:५९