सूचनाको शक्ति - The Power Of Information

        

पञ्चेश्वरको डीपीआरलाई तीन महिनामा अन्तिम रुप दिने सहमति

लामो समयदेखि अल्झिरहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन नेपाल–भारतबीच सहमति भएको छ ।

शुक्रबार पोखरामा नेपाल भारतका बीचमा उक्त सहमति भएको हो । यो सहमति कार्यन्वयन भएमा अब पञ्चेश्वर अघि बढ्नेछ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी)को पोखरामा सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो ।

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर टुंगो लगाउने प्रधानमन्त्री तहमा सहमति भएको थियो ।

उक्त सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न दुई देशका सचिवको सह–अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गरेको हो । यो सहमतिले अब पञ्चेश्वर अघि बढ्ने सकारत्मक सन्देश दिएको सरकारको दाबी छ ।

आयोजनाको डीपीआरलाई तीन महिनाभित्र अन्तिम रूप दिन एवं उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउ पुर्याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्स–अफिसियल)को म्याद ६ महिना थप गर्ने समेत सहमति भएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार ०७:४२