राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको थियो ।
नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा के विषय पढ्ने भन्नेमा विद्यार्थीहरूमा अन्यौलमा हुन सक्छन् । विद्यार्थीले ल्याएको जीपीए र ग्रेडको आधारमा कुन विषय पढ्न पाइन्छ ? भन्ने विषयमा बोर्डले प्रष्टसँगै भनेको छ ।
न्यूनतम २ जीपीए ल्याएका विद्यार्थीले समेत विज्ञान समूहका विषय पढ्न पाउँछन् । विज्ञान विषय समूहमा रहेका फिजिक्स, क्यामेस्ट्री, बायोलोजी–म्याथमेटिक्स–कम्प्युटर साइन्स–एग्रिकल्चर विषय पढ्न पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
तर, त्यसका लागि विज्ञान र गणित विषयमा भने ‘सी प्लस’ ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा ‘डी प्लस’ ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूह पढ्न पाउँछन् ।
जसमा एनेमल साइन्स–प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ रहेका छन् । मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं