सूचनाको शक्ति - The Power Of Information

        

एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल

एसइई परीक्षाफल प्रकाशनको नतिजा अनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।

बिहीबार प्रकाशित एसइई परीक्षाफल अनुसार बागलुङमा ४ जीपीए (शतप्रतिशत) अङ्क ल्याउने ६ जना विद्यार्थीमध्ये चारजना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

जिल्लामा गत वर्षको तुलनामा यो वर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या बढेको हो । गत वर्ष ५६ जनाले ३.६ जीपीएभन्दा माथि अङ्क प्राप्त गरेकोमा यो वर्ष बढेर ३.६ जीपीएभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।

जिल्लामा ४ जीपीए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका दुई, रुद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी रहेका छन् । जिल्लामा चार हजार ७७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । तीमध्ये २३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

बागलुङमा ३.६ देखि ४ जीपीए ल्याउने १३९ विद्यार्थी, ३.३ देखि ३.५५ जीपीए ल्याउने ३१३ विद्यार्थी, २.८ देखि ३.१५ जीपीए ल्याउने ४६७ विद्यार्थी, २.४ देखि २.७५ जीपीए ल्याउने विद्यार्थी ७४८ छन् । २ देखि २.३५ जीपीए अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार १९२, १.६ देखि १.९५ सम्म अङ्क ल्याउने एक हजार २८३ र १.२ देखि १.५५ जीपीए ल्याउने ३३६ तथा त्यसभन्दा कम अङ्क ल्याउने ६६ विद्यार्थी रहेका छन् ।

स्रोत : राष्ट्रिय समाचार समिति
प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १७:१०