सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थलमा कर्मचारीको ठगीधन्दा, ‘लगेजको तौल बढाउँदै, रकम कुम्ल्याउँदै’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका कर्मचारीहरुले यात्रुहरुबाट लगेजको तौल मनोमानी ढंगले बढाएर ठगी गर्ने गरेको पाइएको छ । नेपालबाट विदेशका विभिन्न मुलुकमा जाने यात्रुहरुलाई उनीहरुको लगेजको तौल साविक भन्दा बढी देखाएर चर्को शुल्क असुल्दै सास्ती दिने गरिएको एक घटना बाहिरिएको छ ।

आफैंले तौलेर लगेको सही तौलको सामान लैजानसमेत एक केजीको ४ हजारसम्म लिने गरेको पाइएको छ । घरमै तौल लिएर लगेका एक यात्रुको लगेजमा २ केजी बढी सामान देखाएपछि यो बिषय बाहिर आएको हो । यो घटना सोमबार बेलुकाको कोरियन एयारलाइन्सको हो । कोरियन एयरको उडान नं. केई ६९६ बाट कोरिया हुँदै बिभिन्न गन्तब्यमा जाने यात्रुहरुलाई कोरियन एयरका कर्मचारी र नेपाल वायुसेवा निगमका कर्मचारीहरुले ठगी गरेका हुन् ।

यात्रुहरु आफ्नो निश्चित उडान समय तालीका अनुसार उडान गर्नका लागि तीन घण्टा अघि बिमानस्थल पुग्छन् । उनीहरुलाई लाइनमा सुरक्षा जाँच गरी आफ्नो लगेजहरुलाई पुनः ट्रलीमा हाली बोर्डिङ पासको लागि लाइनमा बसी बिमान चढ्ने र पैसा कमाउने सपना बुन्दै बोर्डिङ पासको लागि प्रतिक्षा गरिरहेका हुन्छन् ।

तब उनीहरुको बोर्डिङ पास लिने पालो आएपछि सोही ठाउँमा यात्रुहरुलाई बोर्डिङ पास दिनका लागि बसेका बिमान कम्पनीका कर्मचारीहरु र ग्राउन्ड हान्डलिङको जिम्मा लिई बसेका नेपाल बायुसेवा निगमका कर्मचारीहरुले लगेज जोख्ने मेसिनमा राख्न लगाउँदछन् । उक्त जोख्ने मेसिनमा यात्रुले राखेको लगेज जोखी लगेको भन्दा १ देखि २ केजी बढी देखाउने गरिएको छ ।

त्यसपछि कर्मचारीले टिकटमा लेखिएको भन्दा तौलको मात्रा बढी भयो भन्दै सामान निकाल्न लगाउँछन् । नेपालको बिदेशी र स्वदेशी पर्यटक तथा यात्रुहरुको आगमन र प्रस्थान गर्ने ढोकाको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएर तातो खाडीको घाममा बाध्यताले बिदेसिने, उच्च शिक्षा अध्ययन गर्न जाने र बैदेशिक भ्रमण गर्ने तथा बिदेशमानै बसोबास गर्ने हजारौ नेपालीहरु बिमानस्थलमा ठगिने गरेका हुन् ।

आफ्नो उडान समयमा गन्तव्यतर्फ हिँडेका एक यात्रुले नाम नबताउने सर्तमा डिसी नेपालसँग भने, ‘मैले घरमानै लगेज जोखेर ठिक्क बनाई लिएर आएको थिएँ । यहाँको जोख्नेमा राख्दा २ केजी बढी देखायो । म अलमलमा परेँ । लगजेको २ केजी सामानमा निकाल्न भन्दै नेपाल वायुसेवा निगमका लोडरहरुले लगेज बाहिर निकाली दिए पछि म एक छिन सोच्न बाध्य भएँ ।’

उनले अगाडि भने, ‘मैले जोखेर लिएर आएको लगेज कसरी बढी देखायो, कतै सञ्चालन भएको काउन्टरको जोख्ने मेसिनमा समस्या छ कि भनेर सँगै रहेको अर्को मेसिनमा जोख्ने निधो गरेँ र अर्को जोख्ने मेसिनमा जोख्दा मेरो लगेजको तौल सहीे देखायो र लगेज सबै ल्याउन पाइयो ।’ यो त एक उदाहारणमात्र हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएर यात्र गर्ने दैनिक हजारौं यात्रुहरुलाई बिमानस्थलका कर्मचारी, एयरलाईन्सका कर्मचारीहरुले कति ठगी गर्ने रहेछन् भन्ने यसै घटनाबाट पनि पुष्टि हुन्छ । कोरियन, कतार, नेपाल वायुसेवा निगम, हिमालय, टर्कीलगायतका अन्य बायुसेवा कम्पनिहरुमा समेत बाट यात्रा गर्दा समेत यात्रुहरु यसै गरी ठगिने गरेका छन् ।

यसरी तौलमा नै कम गरी यत्रुहरु ठगिएको बिषयमा बिमानस्थल प्रशासन बिमानस्थलस्थित सुरक्षा निकाय र एयरलाईन्सका कर्मचारीहरु सबै जानकार छन् । यस्तो गम्भीर बिषय थाहा हुँदाहुँदै पनि बिमानस्थलका सुरक्षा निकाय, कर्मचारी लोडरको मिलेमतोमा ठगिएको तौलमा पैसा असुल गर्ने गरेका छन् ।

यात्रुहरुले लगेको प्रविधिको प्रयोग गरी सही तौलको समेत कम देखाइ पैसा असुल गर्न पल्केका यस्ता कर्मचारीहरुलाई कसले कारवाही गर्ला ? यस बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासँग सम्पर्क गर्दा उनले कर्मचारीबाट यात्रुको लगेजको तौल मनोमानी ढंगले कायम गराएको पुष्टि भएमा कारबाही गरिने बताए ।

उनले लगेजको तौलमा ठगिएका यात्रुलाई निवेदन दिन सुझाउँदै कर्मचारीबाट गलत कार्य गरिएको भएमा छानबिन गरि कानूनी कारबाही गर्ने विश्वास दिलाए । उनले यसबारेमा छानबिन गर्ने बताउँदै विमानस्थलका कर्मचारीबाट यात्रुको लगेजको तौलमा ठगी भएको पाइएमा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १४:५९