सूचनाको शक्ति - The Power Of Information

        

इन्सपेक्टर बढुवामा नेताका पिएसओको दबाव

नेपाल प्रहरीमा इन्सपेक्टरको ३७ पद रिक्त भएको एक महिना भइसकेको छ । तर, अझै बढुवाको सुरसार छैन । बढुवामा अत्याधिक चलखेल हुँदा इन्सपेक्टर बढुवामा ढिलाई भइरहेको छ ।

बढुवामा नेताका पिएसओका रुपमा कार्यरत बरिष्ठ सईहरुले दबाब दिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुलासा गरेका छन् । शुक्रबार निवासमा पत्रकारहरुसँगको कुराकानीमा २६ जना पिएसओको सिफारिस आएको बताए ।

‘इन्सपेक्टरको रिक्त पद ३७ जना छ, तर २६ जना त पिएसओकै सिफारिस आएको छ, कसरी बढुवा गर्ने ?’ उनले भने, ‘सिफारिस गर्दैमा उनीहरुको बढुवा हुँदैन, नियमअनुसार निष्पक्ष मूल्याङ्कनका आधारमा नै इन्सपेक्टर बढुवा गर्छाै ।’

३७ पदका लागि २०० भन्दा धेरै अधिकृत प्रतिस्पर्धामा छन् । सबैले पावर लगाएकाले क–कसलाई बढुवा गर्ने सहमति हुन नसकेको हो । इन्सपेक्टर बढुवामा फिल्डमा काम गर्नेभन्दा नेताका पिएसओ बसेकाहरु सधैं अगाडि हुने गरेका छन् ।

जसकारण राम्रो काम गर्ने अधिकृतहरुमाथि अन्याय हुने गरेको छ । यसपटक चाकडी भन्दा कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्ने दबाब गृह र प्रहरी नेतृत्वमाथि छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १३:४३