सूचनाको शक्ति - The Power Of Information

        

‘मुक्कावाला’ वडाध्यक्ष साढे ६ लाख लिएर फरार भएपछि…

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

वडाध्यक्ष विनोदसिंह विष्ट, सुशील गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले उक्त विषयमा बिहीबार उजुरी आएको र आज मात्रै त्यसको अनुसन्धान गरिने बताए ।

उनीहरूले काम सकेर बाँड्न लागेको रकम धम्क्याएर लगेको विषयमा आजै पत्रकार सम्मेलन गरिने उपभोक्ता समितिकी सदस्य दीपा खड्काले बताइन् । वडाध्यक्ष विष्ट कहिल्यै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर र त कहिल्यै आफ्नै वडा सदस्यहरूसँग विवाद भएर चर्चामा आउने गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १२:५०