सूचनाको शक्ति - The Power Of Information

        

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई पास

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जीपीए ल्याएका छन् ।

२०५८ सालमा एसएलसी परीक्षामा सामेल भएका रोका त्यतिबेला सफल हुन सकेनन् । एसएलसीमा अनुत्तीर्ण भएपछि उनले पढाइ नै छाडेका थिए ।

एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताए । उनी २०६९ सालमा घर फर्किएका थिए ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लब लगायतका सङ्घसंस्थामा आबद्ध भएका थिए । गत वर्षको स्थानीय तह निर्वाचनमा उनी नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १२:४३