सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् ३१ वर्षीय अभिनेता सारुक ताम्राकार

अभिनेता सारुक ताम्राकारको निधन भएको छ ।

बिहिबार राति उनलाई काठमाडौंको रातोपुलस्थित निवासमा मृत अवस्थामा फेला पारिएको हो । ३१ वर्षीय अभिनेता ताम्राकारले आत्महत्या गरेको अनुमान गरिएको छ ।

अहिले ‘ह्यासट्याग माया’ फिल्मको छायांकनमा सक्रिय रहेका अभिनेता ताम्राकारले आत्महत्या गर्नु पर्ने कारण भने खुलिसकेको छैन ।
‘रानी’ फिल्ममार्फत सन् २०१७ मा रजतपटमा डेब्यू गरेका अभिनेता ताम्राकार नेपाली फिल्म क्षेत्रका स्थापित कलाकार सानु ताम्राकारका छोरा हुन् ।

सारुकले रानीपछि इन्टु मिन्टु लण्डनमा, मेरी मामु, नमिर बाँच आदि फिल्ममा पनि काम गरेका थिए । प्रहरीले उनको आत्महत्याका बारेमा अनुसन्धान गरिरहेको परिवारका सदस्यले बताएका छन् ।

हिजो बिहिबार बिहानसम्म उनी ४५ प्रतिशत छायांकन पुरा भैसकेको नम्रता श्रेष्ठको फिल्म ‘ ह्यासट्याग माया’ मा मुख्य अभिनेताको अभिनय गरिरहेका थिए ।

सारुकले बिहिबार बिहानसम्म सुटिङ सेटमा अभिनय गरेको उक्त फिल्मका सदस्यले जानकारी गराएका छन् । फिल्मका प्रोडक्सन म्यानेजर दिलिप पन्तका अनुसार बिहिबार बिहानसम्म उनले राम्रो मुडमा फिल्मको सेटमा काम गरिरहेका थिए ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले अभिनेता ताम्राकारको निधनको पुष्टि गर्दै उनको निधनले आफू लगायत सम्पूर्ण चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

लामाले उनको अल्पायूमै भएको निधनले नेपाली चलचित्र क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ०७:०५