सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उपमहानगरको रोजगार रणनीति मस्यौदामाथि छलफल

नेपालगञ्ज उपमहानगरपालिकाले रोजगार रणनीति मस्यौदा तयार पारेको छ । उपमहानगरपालिकाले पाँच बर्षे रोजगार रणनीति मस्यौदा तयार पारेको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन् ।

रोजगार सेवाको अवस्था, नक्सांकन, स्थानीय श्रम बजारमा श्रमिकको माग र उपलब्ध श्रम शक्तिको अवस्था, रोजगारी सिर्जना गर्ने विभिन्न क्षेत्र र आयाम लगायत विषयलाई प्राथमिकतामा राखी रोजगार रणनीति मस्यौदा २०८०–२०८५ तपार पारिएको हो ।

रोजगार रणनीति मस्यौदामाथि बिहीवार नेपालगञ्जमा छलफल गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा आयोजित रोजगारीसंग सम्बन्धित सरोकारवालाहरुसंग एकिकृत श्रम तथा रोजगार सेवा र श्रम बजारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले प्रधानमन्त्री रोजगार कार्यक्रम, एकिकृत श्रम रोजगार सेवा प्रवाह र रोजगारसंग सम्बन्धित कानुनी व्यवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै चालू आर्थिक बर्ष २०७९/८० को कार्यप्रगतिबारे पनि जानकारी गराएका थिए ।

परामर्शदाता हरि सुवेदीले रोजगार रणनीति मस्यौदा, रोजगार सेवाको नक्सांकनसंगै धारणा संकलन तथा बेरोजगारको अवस्था, अवसर, चुनौति तथा समाधानका उपायहरुबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विष्टले तालिम र सीप प्रदान गरेर रोजगारीका अवसर सिर्जना गर्ने गरी काम गरिने बताए । नेपालगञ्जलाई रोजगारको हबका रुपमा विकास गर्न सकिने भन्दै उनले उपमहानगरपालिका धेरै भन्दा धेरै अवसर सिर्जना गर्ने विषयमा गम्भीर रहेको बताए । उनले एकीकृत श्रम तथा रोजगार सेवामा एकरुपता ल्याउन तालिम र सीप सिकेकाहरुको अभिलेख राख्न थालिएको बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय सरकारहरुले बेरोजगारको तथ्यांक राख्न नसकेको बताउँदै युवाहरुले तालिम र सीप सिक्ने कुरामा चासो नदेखाउने गरेको उल्लेख गरे । आचार्यले सीप र तालिम लिएर भन्दा पनि एकैपटक रोजगारी चाहिने मानसिकताले गाँजेको बताए ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सीप सिकेका जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । सीप र तालिम प्रदान गरेर अवसरका ढोकाहरु खोल्ने विषयमा स्थानीय सरकारहरुले काम गर्नुपर्नेमा आचार्यको जोड छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले एउटै व्यक्तिले पटक–पटक सीप सिक्ने र तालिम लिने अवसर पाएपनि त्यसको सदुपयोग नगर्नु चिन्ताको विषय भएको बताए । रोजगार सेवा केन्द्र प्रमुख ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख कृष्णप्रसाद जोशीले गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, रोजगारसंग सम्बन्धित सरोकारवाला लगायत उपस्थित रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १७:३८