सूचनाको शक्ति - The Power Of Information

        

अब अनलाइनबाटै लाइसेन्स नवीकरण र राजश्व भुक्तानी

यातायात ब्यवस्था कार्यालयहरू लाग्ने गरेको भीड र विचौलिया प्रवृति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र विचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ । लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौं,’ उनले भने ।

उनले गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु भएको बताए । महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने उनको भनाइ छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरे ।

अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए । अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिनमात्र जानुपर्नेछ ।

‘स्वास्थ्य परीक्षण पनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौं,’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १४:१०