सूचनाको शक्ति - The Power Of Information

        

घर बनाउन सेनालाई सहुलियत ऋण

नेपाली सेनाका सकल दर्जाले घर कर्जाको निम्ति बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । उनीहरुले चाहेमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण प्राप्त गर्न सक्ने छन् ।

यसका निम्ति सेनाले २०७८ कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानसँग ‘सैनिक सकल दर्जा सहुलियतपूर्ण आवाज कर्जा २०७८’को सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ ।

जसअनुसार सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका, श्रीमान वा श्रीमतीको नाममा नेपालभर आफ्नो घर नरहेका तथा सहुलियतपूर्ण शैक्षिक कर्जा र चारपाङ्ग्रे सवारीसाधन कर्जा नलिएकाहरुले सहुलियतपूर्ण आवास कर्जा पाउन सक्छन् ।

त्यसका लागि घर बनाउने जग्गा आफ्नो नाममा प्राप्त भएको मिति खुलेको हुनुपर्ने, दोस्रो पक्षबाट आवास निर्माणको क्रममा कुनै विरोध, हकदावी, मुद्दामामिलाजस्ता कार्य नगरेको अवस्थामा सहुलियत ऋणको लागि सिफारिस गरिने सेनाले जनाएको छ ।

पत्रमा भनिएको छ, ‘आवास कर्जाको लागि राजीनामाबाट आएको जग्गाको हकमा छ महिना ३५ दिन नकटेको, बकसपत्रको हकमा २ वर्ष २५ दिन र अंशबण्डाको हकमा ३ महिना हुनुपर्ने प्रावधान छ ।’

योसँगै खरिद गरिने जग्गा, घरको हकमा थैली रकमभन्दा बढी कर्जा प्रवाह हुने छैन । त्यसैगरी जीवन बीमा गर्न चाहनेलाई राष्ट्रिय बीमा संस्थानबाट बीमाको व्यवस्था गरिएको पनि सेनाले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ०७:१६